महिला एसिया कपमा आज नेपालले भारतको सामना गर्दै

महिला एसिया कपमा आज नेपालले भारतको सामना गर्दै

काठमाडौं : महिला एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ।

खेल साँझ सवा सात बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा हुनेछ। भारत उपाधि दाबेदार टोली हो भने नेपालले शुक्रबार यूएईलाई छ विकेटले हराउँदै एसिया कपको इतिहासमै पहिलो जित निकालेको हो।

यद्यपि दोस्रो खेलमा भने नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित हुन पुगेको थियो।

साविक विजेता समेह रहेको भारतले पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्।

यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन। आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ। पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए नेपाल सेमिफाइनल प्रवेश गर्नेछ।

पाकिस्तान र यूएईको खेल दिउँसो सवा दुई बजे सोही मैदानमा शुरू हुनेछ।

साउन ७, २०८१ मंगलबार ०७:४७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।