प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, चार मन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, चार मन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समिति र प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्नेछन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ।

त्यसैगरी उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजकै बैठकमा छ।

त्यसैगरी नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले ‘डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

उक्त प्रस्तावलाई सांसदहरू कुसुम देवी थापा, सपना राजभण्डारी, सीता मिजार र लिलादेवी बोखिम लिम्बुले समर्थन गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

यसअघि सोमबार बसेको प्रतिनिधि सभा बैठकाम सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए।

साउन ७, २०८१ मंगलबार ०७:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।