स्वास्थ्य मन्त्री पौडेलले भने, ‘पास की फेल हुने भन्ने परीक्षामा छु’

स्वास्थ्य मन्त्री पौडेलले भने, ‘पास की फेल हुने भन्ने परीक्षामा छु’

काठमाडौं :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफू पास हुने की फेल हुने भन्ने परीक्षाको ठूलो समस्यामा भएको बताए।

बिचौलियाले जर्जर बनाएको मन्त्रालयको नेतृत्वमा आएका उनले भने, ‘म त चपेटामा छु, मेरो त अहिले परीक्षण भइरहेको छ। म त पास र फेल हुने, डिस्टिङ्सन ल्याउने, ग्रेडिङमा पर्ने वा नपर्ने ठूलो समस्यामा छु।’

कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानले काठमाडौंमा आयोजना गरेको स्नातकोत्तर तह (पोस्ट ग्राजुयट मेडिकल प्रोग्राम)को पाठ्यक्रम बनाउने सम्बन्धी अन्तरक्रिया (करिकुलम वर्कसप) कार्यक्रमको उद्घाटनमा बिहीबार बोल्दै मन्त्री पौडेलले केही काम गरेको उपलब्धि देखाउने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए।

मन्त्री प्रदीप पौडेलले कर्णालीलाई सधैँ दुर्गम भन्न नहुने तर्क समेत गरे।

‘कर्णालीलाई सधैँभरी दुर्गम भन्नु हुँदैन,’ मन्त्री पौडेलले भने, ‘कर्णाली शान्त ठाउँ हो।...पढ्न चाहने मान्छे कोलाहल र भीडमा त जाँदैन नि। शान्त ठाउँमा जान्छ।’

नेपालको मेडिकल शिक्षाले नेपालको आवश्यकता पूरा गर्न सक्नुपर्ने, आवश्यकता अनुसारको जनशक्ति उत्पादनको स्थिति बन्नुपर्ने र अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनले तर्क गरे।

पौडेलले थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्नुपर्ने स्थिति भएको बताउँदै नयाँ संस्था खोल्न असाध्यै गाह्रो रहेको र भएका संस्थाहरूको क्षमता वृद्धि गर्नु उपयुक्त हुने बताए।

उनले नयाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन भन्दा भइरहेकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता अभिवृद्धि गर्दा कम खर्चिलो हुने भएकाले भएकै स्वास्थ्य संस्थालाई क्षमता बढाउनमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले कर्णालीलाई दुर्गम भन्दै दुर्गम बेचेर खान नपाइने तर्क गरे।

‘कर्णालीलाई दुर्गम भनिरहन भएन,’ सचिव डा. पोख्रेलले भने, ‘दुर्गम बेचेर खान पाइएन अब। जुम्ला बाटो बाहेक अरू सबै चिजमा सुगम छ।’

तीन सय बेडको अस्पताल सञ्चालन गर्ने अनि प्रतिष्ठान पनि बनाइएकोले जुम्लालाई अझै दुर्गम भन्न नपाइने उनले बताए।

पाठ्यक्रम विकास सम्बन्धी कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले प्रतिष्ठान भएकै ठाउँमा कार्यक्रम गर्नुपर्ने र प्रतिष्ठानकै जनशक्तिको पाठ्यक्रमको निर्माण लगायतमा सक्रिय सहभागिता हुनुपर्ने बताए।

‘जहाँ जुन संस्था खोलिएको छ, कार्यक्रम त्यहाँ हुनुपर्यो,’डा. झाले भने,‘आज भिसी, रेक्टर, डीन, रजिस्टार सबै यहीँ छौँ, जुम्लामा के भएको होला! त्यहाँको पठनपाठन कसरी भएको होला!’

प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुर्गमको नाममा बेचिखाने भाँडो बनाउन नचाहेको बताउँदै सो प्रतिष्ठान देशको आर्थिक स्रोत हुन सक्ने बताए।

साढे तीन वर्षको अवधिमा ११ जना स्वास्थ्य मन्त्री परिवर्तन भएको भन्दै उनले राजनीतिक अस्थिरताका कारण समेत काम गर्न समस्या परेको बताए।

साउन ६, २०८१ सोमबार २३:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।