सर्वोच्चभित्र महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा महिला वकिल पक्राउ

सर्वोच्चभित्र महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा महिला वकिल पक्राउ

काठमाडौं : सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजना महिला वकिल पक्राउ परेकी छन्। 

आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए।

पक्राउ परेकी चौधरी सर्वोच्च अदालतमा मुद्दाको तारेख लिन मुद्दा फाँटमा प्रवेश गरेर एक्कासि कर्मचारीहरूलाई थर्काउन थालिन्। उनले आफू कुनै एक कानुन व्यवसायीको ल फर्ममा काम गर्ने र तारेख लिन आएको भन्दै कर्मचारीलाई ठुलो स्वरले धम्क्याउन थालिन्। 

त्यसपछि महिला प्रहरी सुरक्षाका लागि त्यहाँ पुगे। अनि ती महिला प्रहरीहरूले चौधरीलाई सम्झाउन खोजे। तर, उनले महिला प्रहरीमाथि  आक्रमण गरिन्। 

चौधरीलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारमा ल्याई अनुसन्धान थालिएको छ। 

साउन ६, २०८१ सोमबार २०:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।