कांग्रेस मुख्यालयको रहर लाग्दो पुस्तकालय , धुलाम्मे कोठा दुई वर्षमै बन्यो भव्य

कांग्रेस मुख्यालयको रहर लाग्दो पुस्तकालय , धुलाम्मे कोठा दुई वर्षमै बन्यो भव्य

काठमाडौँ : पुस्तकालयको भित्तामा टाँगिएका संस्थापक नेता तथा पार्टीका पूर्वसभापतिहरु बिपी कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका तस्बिर धुलोले छोपिएका थिए।

१८१६ ताकाको बृहत् नेपालको नक्सा धुलाम्मे। कुनामा रहेको एक थान कम्प्युटर र दराजमा धुलोले छोपिएका असरल्ल पुस्तक देखिन्थे सानेपामा। 

दुई वर्ष अगाडि पुस्तकालयको अवस्था।दुई वर्ष अगाडि उकेराकर्मी कांग्रेसको भव्य बङ्गलामा रहेको केन्द्रीय कार्यालयको पुस्तकालय छिर्दा यस्तै दिक्क लाग्दा दृश्य देखिएका थिए। पुस्तकालय छिर्दा जडौरी सामान थन्क्याउने गोदाम हो की ज्ञान बढाउने पुस्तकालय, छुट्टाउनै मुस्किल परेको थियो।

अन्य विचारधाराका व्यक्तिहरूले कांग्रेसमा आवद्धहरुलाई खिस्याउनु पर्यो भने’ यी के पढ्छन् र’ भन्नु सामान्य नै हो। धुलाम्मे पुस्तकालयले पनि त्यही देखाउँथ्यो। तर दुई वर्षको बिचमा त्यही थलो अहिले रहर लाग्दो पुस्तकालयमा बदलिएको छ। 

बिपी स्मृति दिवस पारेर उद्घाटन गरेको सो पुस्तकालय अहिले निकै भव्य छ। १० हजार बढी विभिन्न विषयका पुस्तक निकै आकर्षक रूपमा सजाइएको छ। पढ्न पर्याप्त स्थान बनाइएको छ। साजसज्जामा निकै ध्यान दिइएको छ।

पुस्तकालय कर्मचारी विष्णु देव ठाकुरका अनुसार इच्छुक जो पनि गएर पढ्न सक्ने पुस्तकालय बिहान १० देखि साँझ पाँच बजेसम्म खुल्छ। पुस्तकालयमा दिनभर बसेर पढ्न पाइन्छ। तर पुस्तक वा दस्ताबेज पुस्तकालय बाहिर ल्याउन भने पाइँदैन। त्यही बसेर पढ्नुपर्ने नियम रहेको ठाकुरले उकेरालाई बताए।

त्यहाँ रहेका कुनै महत्त्वपूर्ण दस्ताबेज र दुर्लभ पुस्तकको कुनै अंश चाहिने के गर्ने? त्यसबारे भने निर्णय नभइसकेको ठाकुरले बताए।

‘पुस्तक वा दस्ताबेज बाहिर लैजाने सुविधा छैन। तर कसैलाई कुनै दस्ताबेज चाहिए फोटोकपी गर्न दिने कि भन्नेबारे छलफल त भएको थियो। तर निर्णय भएको छैन’ उनले भने।

 

साउन ६, २०८१ सोमबार १९:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।