नेपाल लाइफले शिक्षामा एक अर्ब बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षामा एक अर्ब बढी लगानी गर्ने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ। 

आइतबार नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

नेपाल लाइफले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० लगानी गर्ने सम्झौता भएको बताइएको छ। योसँगै नेपाल लाइफको ३५.३२ प्रतिशत स्वामित्व रहने छ। 

यता, युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड लगानी नेपाल लाइफको रहनेछ। यो स्कुलमा कम्पनीको ४७.६२ प्रतिशत स्वामित्व हुने बताइएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको बताए। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जीवन बिमा बजारमा एक चौथाइभन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको बताए।

साउन ६, २०८१ सोमबार १९:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।