३५ वर्षदेखि शहीद शुक्र माविमा घण्टी बजाइरहेका कर्णबहादुरको इच्छा- हामीलाई पनि पेन्सनको व्यवस्था गरिदिए हुन्थ्यो नि!

३५ वर्षदेखि शहीद शुक्र माविमा घण्टी बजाइरहेका कर्णबहादुरको इच्छा- हामीलाई पनि पेन्सनको व्यवस्था गरिदिए हुन्थ्यो नि!

दोलखामा जन्मिएका कर्णबहादुर नगरकोटी काठमाडौँको शहीद शुक्र माविमा कार्यालय सहयोगीको काम गरिरहेका छन्। उमेरले ६० वर्ष लागिसकेका उनलाई कैले स्कुल छोडेर जानुपर्ने हो था छैन। 

‘उमेरले फागुनबाट ६० वर्ष लागें। अब कुन दिन स्कुलले जा भन्छ त्यो दिन हिन्नुपर्छ। ३५ वर्ष भएछ, यहाँ काम गरेको साह्रै याद आउँछ होला, अब छाडेर जाँदा,’ उनले एकटकले स्कुलको चौर हेरे। 

कर्ण बहादुर १४ वर्षको हुँदा उनका बुवाको मृत्यु भयो। अनि उनलाई घरको जिम्मेवारीले थिच्न थाल्यो। त्यसको एक वर्षपछि घर परिवारको दुई छाक भोक टार्नकै लागि काठमाडौँ छिरे उनी। 

यहाँ आएपछि होटेलमा भाडा माझ्ने, भारी बोक्ने सम्मको काम गरेको उनी सम्झिन्छन्। 

‘दाजु सानैदेखि घर छोडेर काठमाडौँ आउनु भयो। घरको सम्पूर्ण जिम्मेवारी मलाई आयो। अनि घरपरिवारलाई पाल्नको लागि १५ वर्षकोहुँदा काठमाडौँ आएँ। होटलमा भाडा माझ्ने र भारी बोक्ने काम गरें। पढ्न पाइँन,’ उनले सुनाए। 

तर, अहिले भने उनकी कान्छी छोरी सशस्त्र प्रहरीमा जागिरे छिन्। छोराले गाउँमै खेती किसानी गरेर जीविकोपार्जन गरेका छन्। तर, जेठी छोरीको भने मृत्यु भयो। 

‘सारै दुख गरेर छोरा छोरीलाई हुर्काएँ। खाई नखाई जति सकियो त्यति पढाएँ। तर, ३ वर्षअघि जेठी छोरी बितेर गइ। छातीमा राखेर पालेको थिए, छोडेर गई,’ यो भनिरहँदा उनको आखा राता भए। 

०००

...अनि आर्मी जागिर छोडें।
शहीद शुक्र माविमा काम गर्न आउनुअघि कर्ण बहादुर नेपाल आर्मी जागिरे थिए। २०३६/०३७ मा आर्मीमा भर्ती भएको सम्झन्छन्। फिट ज्यान भएका कर्णबहादुरलाई गाउँकै एकजना काकाले आर्मीमा जान सुझाएका रहेछन्। 

उनको गाउँमा भर्खरै रोड पुगेको थियो। उनी पनि त्यही रोडमा मजदुरी गरिरहेका थिए। गाउँ भरी आर्मीमा जानेको लर्काे थियो।

‘गाउँमा रोडको काम हुँदैथियो। त्यो दिन बाटो खन्दा खन्दै थिएँ,’ उनले सम्झँदै भने, ‘जमदारबाट रिटार्ड भएको एकजना गाउँकै काकाले त लायकदार छस् भर्ती हुन जा भन्नुभयो। त्यतिखेर मलाई आर्मी भनेको के हो भन्ने पनि था थिएन।’  

आर्मीमा भर्ना हुन कर्णबहादुरले धेरै दुख गर्नुपरेन। १६/१७ वर्षको उमेर थियो, आर्मीमा भर्ती हुँदा अहिलेको जस्तो २१ वर्ष नै पुग्नु नपर्ने। 

आर्मीमा भर्ती हुँदा गाउँभरीको मान्छे चौरमा जम्मा भएका रहेछन्। त्यहीबेला ती गाउँले जमदार काकाले उनको हात समाएर अगाडि लगे।  

‘ती काकाले यसरी लाज मानेर हुन्छ ल आइज भनेर अगाडि लग्नुभयो। केही गर्नै परेन। कापीमा के टिप्यो अनि डाक्टरकोमा पठाइदियो। यसो हेर्याे पास भए। त्यो जागिर भाग्यमा आएको थियो नि त मेरो,’ उनले सम्झिए। 

ठुलो ज्यान भएका कर्णबहादुरले आर्मीमा हुँदा भेटभरी भात पनि खान पाएनछन्। त्यो बेला भात पनि बट्टाले नापेर दिने गरेको उनी सम्झन्छन्। 

‘अहिले त धेरै सुधार भयो होला त्यो बेला बट्टाले नापेर खान दिन्थ्यो। भात पेटभरी खानलाई भान्सामा मलाई फिटिङ हाल्दे है भन्न पर्यो। फेरी मलाई मात्रै हाल्देर भएन साथीहरूले विरोध गर्थे।’ 

कर्णबहादुरले जागिर गरेको त्यो बेला १ सय एक रूपैँया तलब आउँथ्यो। तर, पनि उनलाई आर्मीमा जागिर खान मन लागेन। र, निस्किए। 

‘हामीलाई पनि सम्मान स्वरूप पेन्सनको व्यवस्था गरिदिए हुन्थ्यो’
आर्मीबाट निस्किएपछि कर्णबहादुर बेरोजगार भए। गाउँमै खेती किसानी गरिरहेको बेला गाउँका चिनेको दाइले उनलाई अहिले काम गरिरहेको स्कुलमा लगेछन्। गाउँका दाई त्यही स्कुलमा काम गर्ने भएकोले साथी बस्न भनेर लगेका रहेछन्। पछि ती गाउँले दाइले काम छोडेपछि कर्ण बहादुरले नै स्कुलको घन्टी बजाउने जिम्मा पाए। 

एउटा कोठा, जहाँ खाना बनाउने देखी सुत्नेसम्मको व्यवस्था छ। अझ २० वर्षसम्म उनी टिनले छाएको कोठामा बसेर काम गरे। १५ वर्षजति भयो पक्की कोठामा बसेको। निस्कने बेलामा कर्णबहादुरलाई एउटै कुराले पोल्छ, यहाँबाट निस्किसकेपछि के गरी खाने! 

सरकारले आफूहरूको पेन्सनको व्यवस्था नगरेकाले दिक्क छन् उनी। भर्खरै शिक्षा ऐनको संसदमा कुरा उठ्दा कतै हाम्रो लागि पो केही हुन्छ कि भन्ने आस पनि छ। पटकपटक सरकार फेरिँदा त्यो आशा पनि मरिसकेको उनले सुनाए। 

‘हामी जस्तालाई सरकारले केही रकम दिएर भएपनि विदा गरिदिए राम्रो हुन्थ्यो। तर, त्यस्तो गर्छ जस्तो लाग्दैन। म यहाँबाट गएको भोलिपल्ट मरे भने पनि कात्रो किन्ने पैसा समेत हुँदैन। सरकारको पारा यही हो,’ उनले आफ्नो दुखेसो पोखे। 

उनी २०४६, साउन २२ बाट सहिद शुक्रमा प्रवेश गरे। नेपाल विद्यालय कर्मचारी परिषदले कार्यालय सहयोगीको लागि पनि राम्रो व्यवस्था होस् भनेर २०५४ सालदेखि संघर्ष गरिरहेको छ। त्यस संस्थामा उनी २०५४ मा जोडिए। 

उनले त्यतिखेरदेखि नै कार्यालय सहयोगीहरुको लागि पनि स्थायी हुनुपर्छ भनेर आन्दोलन गरिरहेको भएपनि अहिलेसम्म सार्थकता नपाएको दुखेसो पोख्छन्। 

‘सम्झौता मात्रै गर्छ, गर्न चाही केही गर्दैन। ती वार्तामा म पनि बस्थें। मैले नबोले पनि बोल्ने अरू बोल्ने थिए। मैले सबै कुरा सुनेको छु। एक महिनामा २२ चोटि वार्तामा बसियो तर निष्कर्ष निस्किएन,’ उनले सुनाए। 

गत असोजमा देशभरका शिक्षकहरूले आन्दोलन गर्दा विद्यालय कर्मचारीको माग पनि सम्बोधन हुनेमा उनी आशावादी थिए। तर, भएन। 

अब शिक्षा ऐन आएपछि केही हुन्छ कि भन्ने मसिनो आशा मात्रै छ, होइन भने खाली हात स्कुलबाट निस्कनुपर्ने कुराले चिन्तित छन् उनी। 

कामको अन्तिम घडीमा कर्णबहादुरलाई स्कुलका विद्यार्थीको निकै याद गर्छन्। स्कुलमा कति विद्यार्थीलाई गाली गरियो, कतिलाई काखमा बोकेर हिँडेको सम्झना पछिल्ला दिनहरूमा आउने गरेको उनले सुनाए। एकपटक जापानमा अध्ययनको लागि गएका एक विद्यार्थी स्कुलमा आएर भेट्दा खुसी लाग्यो उनलाई। 

उनले गाली गरेका, बोकेका विद्यार्थी कोही पाइलट बने, कोही इन्जिनियर बने, अनि कोही डाक्टर समेत बने। 

‘२ वर्षअघि एकजना विद्यार्थी आएका थिए। बेलुका हामी जम्मा हुँदा तपाईंको कुरा हुन्छ दाई भन्दै आएका थिए, फोटो खिचेर समेत लगे। गालि गर्नुपर्ने ठाउँमा त गालि पनि गरें, आज उनीहरू त्यो ठाउँमा पुगे। खुसी लाग्छ नि। जाने बेलामा त्यो विद्यार्थीले ५ सय राखेर दाई चिया खानुस् भनेर दिएर गए। यही नै त रैछ मैले कमाएको इमान,’ उनले हास्दै भने। 

साउन ६, २०८१ सोमबार १९:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।