बालबालिकामा बढ्दै छ आत्महत्या, बालिकाको सङ्ख्या २३ प्रतिशत

बालबालिकामा बढ्दै छ आत्महत्या, बालिकाको सङ्ख्या २३ प्रतिशत

काठमाडौँ :  होस्टलमा बसेर पढ्दै गरेकी शालीन पोखरेल मृत फेला परेको घटना निकै विवादित भयो। प्रारम्भमा उनको परिवारका सदस्यले शालीनको मृत्युको कारण आत्महत्या नभई हत्या भएको दाबी गरे। तर अन्तमा कक्षा ८ मा पढ्दै गरेकी उनले आत्महत्या गरेकै खुलायो अनुसन्धानले।

आत्महत्याबाट हुने बालबालिकाको मृत्युलाई तत्काल स्वाभाविक रूपमा हेर्ने गरेको देखिँदैन। बालबालिकामा के तनाव हुन्छ र उनीहरूले आत्महत्या गर्न भने जस्ता तर्क पनि सुनिन्छ। तर नेपाल प्रहरीले 'आत्महत्या न्यूनीकरण तथा व्यवस्थासम्बन्धी अध्ययन २०८१' को नतिजा हेर्ने हो भने नतिजा निकै निराशाजनक देखिन्छ।

प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनले बालबालिकाहरूमा आत्महत्याको दर बढ्दै गएको देखाउँछ। अध्ययन अनुसार प्रहरी कार्यालयमा आइपुगेका घटनामध्ये १५ प्रतिशत सङ्ख्या बालबालिकाको छ। यसमा पनि धेरै मधेसमा यो समस्या देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा प्रहरीमा ४६  हजार ९ सय २ वटा जाहेरी आएकोमा ६ हजार ७ सय ९२ वटा आत्महत्या सम्बन्धी छन्। आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३ सय २३ मध्ये  ६ हजार ९ सय ७४,   आर्थिक वर्ष २०८०/८१ मा ५९ हजार २ सय ३ मध्ये ७ हजार १ सय ९४ ले आत्महत्या गरेका छन्।

प्रहरीको अध्ययन प्रतिवेदन अनुसार आत्महत्याका कारण मृत्यु हुने १० वर्षमुनिका बालबालिकाको सङ्ख्या ०.८ प्रतिशत रहेको छ। १८ वर्ष मुनीको सङ्ख्या १४. ९ प्रतिशत रहेको छ।

आत्महत्याको घटनाको सङ्ख्यात्मक आधारमा बालिकाको सङ्ख्या २३.४ प्रतिशत र  बालकको सङ्ख्या ९.२ प्रतिशत देखिन्छ। आत्महत्याको घटनाबाट २० प्रतिशत बालबालिका प्रभावित देखिन्छन्।

प्रहरीले प्रश्नावली सर्वेक्षण समेत प्रयोग गरेर गरेको अनुसन्धानको नतिजाको आधारमा बालबालिकामा बढिरहेको आत्महत्याको रोकथामका लागि विद्यालयहरूमा माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरेर मानसिक स्वास्थ्य विज्ञको सहयोगमा मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन सम्बन्धी सचेतना कक्षा सञ्चालन गर्न सुझाव दिएको छ।

सुसाइड नोट नलेख्नेको सङ्ख्या उच्च

एक त आत्महत्याबाट हुने मृत्युको घटना अझ विशेष गरेर महिला र बालिकाको हकमा विवादित हुने गरेको छ। अधिकांश आत्महत्याका घटनालाई हत्या भएको भन्दै अनुसन्धानका लागि परिवारबाट दबाब समेत बढ्ने गरेका छन्।

आत्महत्याबाट हुने मृत्युको घटनालाई सुसाइड नोटसँग समेत लगेर जोडिन्छ। सुसाइड नोट फेला नपरेमा शंकास्पद घटनाका रुपमा हेरिन्छ। तर प्रहरीको अनुसन्धानको निचोडमा आत्महत्याबाट मृत्यु भएको ९८.६० प्रतिशत घटनामा कुनै सुसाइड नोट फेला परेन।

किसान र विद्यार्थीको सङ्ख्या डरलाग्दो

पेसागत आधारमा कृषि पेसामा संलग्नहरूमा आत्महत्याको दर निकै उच्च देखिन्छ। कुल घटनामध्ये ४६ प्रतिशत सङ्ख्या किसानको छ। दोस्रोमा विद्यार्थीको सङ्ख्या १५.४ प्रतिशत छ भने गृहिणीको सङ्ख्या ११.६ प्रतिशत रहेको छ। वैदेशिक रोजगार, बेरोजगार र चिकित्सकहरूको सङ्ख्या पनि बढिरहेको देखिन्छ।

महिनागत विश्लेषणका आधारमा सबैभन्दा धेरै वैशाख महिनामा (९.६ प्रतिशत) र सबैभन्दा कम पुस महिनामा (६.८ प्रतिशत) आत्महत्याका घटना हुने गरेको देखियो। बारका आधारमा शुक्रवार सबैभन्दा धेरै (१५.२ प्रतिशत) र शनिवार सबैभन्दा कम (१३.७ प्रतिशत) आत्महत्याका घटना हुने देखियो।

दैनिक समयको आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी प्रारम्भिक प्रभातकालिन (४ देखि ८ बजेसम्म) को समयमा (२८.७ प्रतिशत) र सबैभन्दा कम रातको अन्तिम समयमा (८- देखि १२) रहेको छ।

मानसिक रोग र मानसिक तनावको कारण ६७ प्रतिशतले आत्महत्या गरेको देखिन्छ। अन्य प्रमुख कारणहरूमा प्रेम सम्बन्धित (८.२ प्रतिशत), आर्थिक समस्या (८ प्रतिशत), दीर्घ रोग (७.५ प्रतिशत), लागूपदार्थ (४.७ प्रतिशत), मादक पदार्थ (२.८ प्रतिशत) र अन्य कारण (शारीरिक अपाङ्गता, अनैतिक सम्बन्ध, घरेलु हिंसा, पारिवारिक द्वन्द्व, आवेग, बेरोजगारी, यौन हिंसा) रहेको देखियो।

आत्महत्याका तीन परिवेश

पहिलो जैविक, जसमा पारिवारिक संरचना र व्यक्तिको वंशाणुगत बनावटको प्रभाव देखिएको छ। दोस्रो व्यक्तित्व जस्तै समस्यालाई कुन रूपले लिन्छ भन्नेले प्रभाव पार्ने गरेको देखियो। यो मनोवैज्ञानिक कारण हो। र तेस्रोमा सामाजिक परिवेश देखिन्छ। व्यक्तिको आर्थिक अवस्था, रोजगार, सामाजिक सम्बन्ध र  विपद्को घटनाका कारण समेत आत्महत्या हुने गरेको देखिन्छ।

यी तीन वटा परिवेश मध्ये एक मात्रै कारणले आत्महत्या नहुने चिकित्सकहरूले प्रहरीका सो प्रतिवेदनमा बताएका छन् । चिकित्सकहरूका अनुसार आत्महत्या गर्न तीन वटै कारणले प्रेरित गरेको हुन्छ । जस्तो परीक्षामा फेल हुँदा होस् या जागिरबाट निकालिदा होस् या सम्बन्धमा खटपट हुँदा व्यक्तिले आत्महत्या गर्छ भने त्यो जैविक मनोवैज्ञानिक र सामाजिक तीन वटै कारणले हुन्छ ।

९० प्रतिशत व्यक्तिले छाड्छन् केही न केही सङ्केत

अध्ययनमा आत्महत्या गर्ने र प्रयास गरेका व्यक्तिमा गरिएको अध्ययनले आत्महत्या गर्नेले केही न केही सङ्केत गर्ने गरेको देखियो। आत्महत्याका ९० प्रतिशत घटनामा पूर्व सङ्केत देखिएको र अन्यले बुझ्न नसक्दा वा गम्भीरताका साथ नलिँदा आत्महत्याको सङ्ख्या बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

आत्महत्याको योजना बनाएकाले असाधारण हाउभाउ देखाउँछन्। निकै निराश हुने, दुखी कुरा गर्ने, संसार नै सकिएजस्तो मान्ने गर्छन् उनीहरू। जब आत्महत्याको योजना बनाउँछन् त्यसपछि पहिले दुखी भएको मानिस अचम्मले खुसी देखिन्छन्। साथीभाइ भेटघाट गर्ने, घुमफिर गर्न थाल्छन्।

कतिपय अवस्थामा आत्महत्या गर्न चाहनेले त्यसबारे अलि बढी चासो राख्ने गर्छन्। इन्टरनेटमा यसबारे खोजी गर्ने डिप्रेसनमा जाने, निराशावादी कुरा गर्ने गर्छन्।

प्रतिवेदन अनुसार आत्महत्या गर्न बाध्य पार्ने तत्त्वहरूमा  मानसिक अवस्थाका कारण समेत उल्लेख छ। डिप्रेसन, डर-चिन्ता, जीवनदेखि निराशा वा विभिन्न मानसिक रोगको दुखाइका कारण, गम्भीर दुर्घटना, गम्भीर बिरामीले समेत आत्महत्या गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

वातावरणीय तत्त्वहरूमा अर्को व्यक्तिको सम्पर्क वा प्रभावबाट वा भौगोलिक वा अन्य कारणबाट प्रेरित भएर गरिने आत्महत्या, मदिरा  वा लागू औषधको दुर्व्यसनीबाट प्रभावित व्यक्ति, मानसिक दबाब जस्तै दुर्व्यवहार, जिस्काई, हैरानी, पारिवारिक सम्बन्धमा समस्या र बेरोजगारी आत्महत्याको प्रमुख कारण देखिन्छ।

मानसिक दबाब दिने खालका जीवनमा पर्ने घटना (जस्तै मृत्यु, सम्बन्ध विच्छेद, प्रेममा असफलता, जागिरबाट निष्कासन, गरिबी, धन-सम्पत्तिको नोक्सानी, परीक्षामा असफलता, कुनै जोखिमयुक्त समस्याबाट मुक्त पाउन, जुवाका कारण, शारीरिक वा मानसिक दुर्व्यवहार, बलात्कार, घरेलु हिंसा, यौन हिंसा, दाइजो, बहुविवाह, अन्तर्जातीय विवाह, गम्भीर कानुनी समस्या जस्तै फौजदारी अभियोजनले पनि आत्महत्याको सङ्ख्या बढेको प्रतिवेदनको निचोड छ।

पारिवारिक पृष्ठभूमि, पटक-पटक आत्महत्या गर्ने उद्योग वा प्रयास, परिवारका सदस्यबाट आत्महत्या गर्ने प्रयत्न  आदिले पनि व्यक्तिले आत्महत्या गर्ने गरेको देखिन्छ।

२५ वर्षमुनिका महिला र २९ वर्षपछिका पुरुषको सङ्ख्या उच्च

उमेर र लिङ्गको आधारमा गरिएको तुलनात्मक अध्ययनमा २५ वर्षमुनि उमेरका महिलाहरूले आत्महत्या बढी गरिरहेको (५०.२ प्रतिशत) देखिन्छ। २९ वर्ष भन्दा माथिका उमेरमा पुरुषहरूले आत्महत्या बढी गरिरहेको देखिन्छ।

भौगोलिक क्षेत्रको आधारमा हेर्दा भित्री मधेस र पहाडमा पुरुषको तुलनामा महिलाहरूले बढी (५०.२१७ प्रतिशत) आत्महत्या गरेको पाइयो। मधेस र हिमाली भेगमा महिलाको तुलनामा पुरुषले बढी (५२.४प्रतिशत) आत्महत्या गरेको पाइयो।

मधेसी समुदायमा अन्य समुदायको तुलनामा बालबालिकामा सबैभन्दा बढी (२५ प्रतिशत) आत्महत्या गरेको पाइयो। १८-२५ वर्ष उमेर समूहमा समेत अन्यको तुलनामा मधेसी समुदायमा नै आत्महत्या बढी (३१.५ प्रतिशत) भएको पाइयो। समुदायगत आधारमा पिछडिएको समुदायमा ४५-५५ वर्ष उमेर समूहमा सबैभन्दा बढी (२८ ६०प्रतिशत) आत्महत्या भएको देखियो।

साउन ६, २०८१ सोमबार १९:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।