एमाले लुम्बिनीमा शंकर पोखरेल र विष्णु पौडेल गुट सतहमा, दलका उपनेता आचार्य मुख्यमन्त्री बन्दै

एमाले लुम्बिनीमा शंकर पोखरेल र विष्णु पौडेल गुट सतहमा, दलका उपनेता आचार्य मुख्यमन्त्री बन्दै

बुटवल : एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्ने भएका छन्।

उनलाई सोमबार मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ। 

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज साँझ ६ बजेसम्मको समय सीमा दिएका थिए। त्यसपछि एमालेको नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेस-एमालेबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यको दाबी पेस गरिएको हो। 

कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेका छन्। ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा ४४ जनाको बहुमत पुग्छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेसँग २९ जना सांसद छन् भने कांग्रेसका २७ जना सांसद छन्। 

यता, एमालेभित्रको शक्ति संघर्ष र गुट राजनीति लुम्बिनी प्रदेशबाट सतहमा देखिएको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच विगतदेखि नै हुँदै आएको हो। तर, यसपटक मुख्यमन्त्री बनाउने विषयमा भने देखिने गरि सतहमा आयो।

लुम्बिनीमा संसदीय दलका नेता लिला गिरीलाई छाडेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने केन्द्रको ठाडो निर्देशनपछि महासचिव पोखरेल हाबी भएको देखियो। 

लीला गिरीलाई एमालेको तर्फबाट मुख्यमन्त्री बनाउने पत्र तयार हुँदै गर्दा केन्द्रको निर्देशनमा उनको नाममा 'टिपेक्स' लगाएर चेतनारायण आचार्यको नाम लेखिएको बताइएको छ। 

गिरीको नाममा दावी पेश गर्न जाने गरी एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पत्र तयार गरिसकेका थिए। तर, त्यहीबेला पार्टी महासचिव शंकर पोखरेलको फोन आएपछि गिरीको नाममा 'टिपेक्स' लगाएर चेतनारायण आचार्यको नाम लेखिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए।

एकाएक यस्तो निर्देशन आएपछि गिरी आफैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका थिए। त्यसक्रममा ओलीले ‘यसपाली यस्तै भयो’ भनेको गिरीले बताए। 

साउन ६, २०८१ सोमबार १६:३२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।