वार्षिक महंगी ७.७४ प्रतिशत, लक्ष्य पूरा गर्न चुक्यो राष्ट्र बैंक

वार्षिक महंगी ७.७४ प्रतिशत, लक्ष्य पूरा गर्न चुक्यो राष्ट्र बैंक

काठमाडौं : देशमा ७.७४ प्रतिशतले वार्षिक महंगी बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सन् २०२२/०२३ को वार्षिक मुद्रास्फीति(महंगी)को तथ्याङ्क अनुसार यस्तो देखिएको हो।

पहिलो त्रैमासमा ८.४७ प्रतिशतसम्म पुगेको मुद्रास्फीति रहेकोमा चौथो त्रैमाससम्म आइपुग्दा घटेर ७.२३ प्रतिशतमा आएको केन्द्रीय बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको हो।

राष्ट्र बैंकले वार्षिक मुद्रास्फीति ६.५ प्रतिशतमा सीमिति राख्ने लक्ष्य लिएको थियो। तर, उक्त लक्ष्य पूरा हुन भने सकेन।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति औसत ६.६२ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ८.६२ प्रतिशत पुगेको छ।

यसैगरी, सेवा क्षेत्र अन्तर्गतको होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रको मुद्रास्फीति करिब १५ प्रतिशत पुगेको छ। खाद्य मसलामा भने १२ प्रतिशतले महंगी बढेको छ।

तेल तथा घिउको बजार मूल्य १० प्रतिशत हाराहारीले बढ्दा पेयपदार्थको मूल्यवृद्धि १० प्रतिशत मुनि रहेको तथ्यांकमा उल्लेख छ।

समीक्षा अवधिमा यातायात क्षेत्रको महंगी १४ प्रतिशतभन्दा बढीले बढेको छ। गैरखाद्यान्न तर्फ सूचना तथा सञ्चार क्षेत्रको महंगी ५ प्रतिशत तल रहँदा लत्ताकपडा तथा अन्य पहिरनको महंगी ८ प्रतिशत हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

अन्य वस्तु तथा सेवा क्षेत्रको महंगी आठ प्रतिशत आसपास रहँदा स्वास्थ्य सेवा क्षेत्रको महंगी १० प्रतिशतको हाराहारीमा रहेको तथ्याङ्कमा उल्लेख छ।

साउन ६, २०८१ सोमबार १३:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।