एमाले सांसदले पुष्पकमल दाहालको ४६औं स्मृति दिवस भन्दै श्रद्धासुमन व्यक्त गरेपछि...

एमाले सांसदले पुष्पकमल दाहालको ४६औं स्मृति दिवस भन्दै श्रद्धासुमन व्यक्त गरेपछि...

काठमाडौं : एमाले सांसद किरण कुमार शाहले पुष्पकमल दाहालको ४६औं स्मृति दिवसमा श्रद्धासुमन व्यक्त गरेपछि माओवादी केन्द्रका सांसद्ले नियमापत्ति जनाएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहले पुष्पकमल दाहालको स्मृति दिवस भनेपछि माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक सांसद हितराज पाण्डेले नियमापत्ति गरेका हुन्।

शाहले भने, ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहा...(एकछिन रोकिएर) पुष्पलालज्यूको ४६औं स्मृति दिवसको उपलक्ष्यमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छौँ।’

शाहको भनाइपछि माओवादी सांसदहरूले नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक सांसद हितराज पाण्डेलाई बोल्न समय दिए।

पाण्डेले, ‘म नियमापत्ति गरिरहेको छु, उहाँले पुष्पकमल दाहाल भन्नुभयो। के भन्न खोज्नुभएको हो। एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा हुनुपर्छ। म यो विषयमा नियमापत्ति गर्छु।’

लगत्तै सभामुख घिमिरेले सांसद शाहलाई ‘वक्ता माननीयज्यू तपाईंले बोल्नुभएको पुष्पकमल दाहालप्रति आपत्ति आयो। तुरुन्त प्रष्ट गर्नुहोस् र आफ्ना कुरा राख्नुस्।’

त्यसपछि सांसद शाहले ‘मैले पुष्पलाल भन्न खोजेको हो, पुष्पकमल दाहाल भन्न आएकाले क्षमा माग्न चाहन्छु।’

पुष्पलाल कम्युनिष्ट पार्टीका संस्थापक  हुन् भने पुष्पकमल दाहाल पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र पार्टीका अध्यक्ष हुन्।

साउन ६, २०८१ सोमबार १३:४५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।