भैरहवा भन्सार : लगातार तीन वर्षदेखि राजश्वको लक्ष्य भेट्न असफल (तथ्याङ्कसहित)

भैरहवा भन्सार : लगातार तीन वर्षदेखि राजश्वको लक्ष्य भेट्न असफल (तथ्याङ्कसहित)

बुटवल : मुलुकै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय बेलहियाले पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन। बेलहिया नाकाबाट हुने आयात कम हुँदा पछिल्लो तीन वर्षदेखि भैरहवा भन्सार लक्ष्यअनुसार राजश्व संकलन गर्न असफल भएको हो।

भन्सारले गत आर्थिक वर्षमा तोकिएको भन्दा ३४ प्रतिशत कम राजश्व संकलन गरेको छ। आर्थिक वर्ष ०८०/०८१ मा १ खर्व २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार लक्ष्य राखेकोमा ७३ अर्ब ७१ करोड ३० लाख ८५ हजार रुपैयाँ मात्र संकलन भएको हो।

आर्थिक वर्ष २०७८/०७९ मा ९१ प्रतिशत र आर्थिक वर्ष ०७९/०८० मा ४९ प्रतिशत राजस्व संकलन भएको थियो। भन्सारले आर्थिक वर्ष २०८०/०८१ मा पनि लक्ष्य भेट्टाउन सकेन।

विभागले भैरहवा भन्सारलाई ०७८/०७९ मा १ खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ रुपैयाँको राजश्व संकलनको लक्ष्य दिएकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २४ हजार मात्र संकलन भएको हो।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार राजश्व संकलन लक्ष्य तोकिएको भन्सारबाट ७६ अर्ब ८९ करोड ९ लाख ९८ हजार मात्रै संकलन भएको थियो।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले राजश्व संकलनमा योगदान दिने वस्तुको आयात खुम्चँदा लक्ष्यअनुसार राजश्व संकलन हुन नसकेको बताए।

उनका अनुसार राजश्व संकलनमा बढि योगदान दिदै आएका विलासिता जस्तै कार, जीप, भ्यान, मोटरसाइकल, मोबाइल, मार्वल जस्ता वस्तुको आयात घट्दा राजश्व संकलनको लक्ष्य भेटाउन मुस्किल परेको हो।

बेलहियाका नाका हुँदै नाकाबन्दी र मधेश आन्दोलनको समयमा बढी सामान भित्रँदा राजश्व संकलन लक्ष्यभन्दा बढी भएको थियो।

आर्थिक वर्ष ०७२/०७३ मा लक्ष्यभन्दा १७ प्रतिशत तथा ०७३/०७४ मा लक्ष्यभन्दा नौ प्रतिशत बढी राजश्व संकलन गरेको भैरहवा भन्सारले त्यसपछिका तीन आर्थिक वर्षमा भने लक्ष्य भेट्टाउन सकेको छैन।

आर्थिक वर्ष ०७४/०७५ मा ८६ प्रतिशत, आर्थिक वर्ष ०७५/०७६ मा ८८ प्रतिशत र आर्थिक वर्ष ०७६/०७७ मा जम्मा ६६ प्रतिशत राजश्व संकलन भएको थियो। आर्थिक वर्ष ०७७/०७८ मा भने लक्ष्य भन्दा बढि ११३ प्रतिशत राजश्व संकलन भएको थियो।

भूकम्प र नाकाबन्दीपछि ०७२ सालदेखि समग्रमा हेर्ने हो भने भैरहवा भन्सार कार्यालय आर्थिक वर्ष ०८०/०८१ सम्ममा जम्मा ३ वटा आर्थिक वर्षमा मात्र लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको देखिन्छ।

किन कम भइरहेको छ राजश्व संकलन ?
मधेश आन्दोलन र नाकाबन्दीका बेला मुलुकभरका अन्य भन्सार नाका प्रभावित थिए। भैरहवा नाका सहज हुँदा आयातकर्ता आकर्षित भए, जसले गर्दा भन्सार राजश्व असुली ह्वात्तै बढ्यो।

विस्तारै अन्य नाका सहज हुँदा व्यवसायीले पूरानै नाकाबाट आयात गर्न थाले। तर, भैरहवा भन्सारको राजश्व लक्ष्य बृद्धि भइरह्यो भने आयात घट्दै गयो।

भन्सार कार्यालय प्रमुख गौतमले बुटवल-नारायणगढ सडककै कारण पनि धेरै व्यापारीहरूले बेलहिया नाकाबाट सामान आयात नगर्दा पनि त्यसको असर राजश्व संकलनमा पुगेको बताए।

त्यस्तै कतिपय भन्सार छुट नीतिले पनि राजश्व प्रभावित भएको उनको भनाइ छ। पछिल्लो समय भन्सारले सेवा प्रवाह सरलीकृत गर्दै लगेको छ भने अवैध पैठारी रोक्न सीमा क्षेत्रमा गस्ती तीव्र पारेको छ।

भैरहवा भन्सार कार्यालयबाट मुख्यतः मोटरसाइकल, एमएस बिलेट, टाइल, हाइस्पिड डिजेल, डबल-क्याब, पीकअप गाडी, पेट्रोल, मार्वल स्ल्याब, ट्रक, मिनी ट्रक, पत्थर कोइला, नुहाउने साबुन, पोलिथिन दाना लगायतका औद्योगिक कच्चा पदार्थ आदी पैठारी हुने गर्दछ।

त्यस्तै निकासीतर्फ सेन्थेटिक यार्न, पिना अन्य, अन्य कपडा पदार्थको बोरा झोला, भटमासको तेल प्रशोधित, चाउचाउ, नुडल्स, जस्ता आदि, चोकर, भुस, अन्य रेसाको कपडा, काँच र डण्डी ट्युबहरू, अदुवा, सुठो, स्टीलका भाँडाकुँडा, जडीबुटी, प्लाष्टिकका नली पाइप, खोटो रोजीन, दालचिनि, फलामे पत्रु रहेका छन्।

भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ मा भने विगतको तुलनामा लक्ष्य केही घटाएर भन्सारलाई १ खर्ब ९ अर्ब लक्ष्य तोकेको छ। मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ।

साउन ६, २०८१ सोमबार १३:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।