कविता- छोरी र आकाश

कविता- छोरी र आकाश

छोरीले अचानक 
आकाश उपहार मागिन् 
मैले आकाश खोजेँ
जताततै छ आकाश 
घरैमाथि छ  आकाश
चिहानमाथि छ आकाश
स्कुलमाथि छ आकाश
गाउँमाथि छ आकाश
खोलामाथि छ आकाश
फूलबारीमाथि पनि छ
वनजंगलमाथि पनि छ
उत्तिसको टुप्पोमाथि पनि छ
कहाँ छैन आकाश?
अहो! अरु त अरु
आकाशमाथि पनि छ आकाश!

त्यत्रो विशाल छ आकाश 
छोरीले अलिकति मागिन् त के भो?
मैले सबै आकाश चलाइनँ
छोरीलाई चाहिने जति मात्रै 
रुमाले आकाश किनेर ल्याएँ
बाह्र वर्ग फिटको
उसको कोठाको सिलिङभरी
नीलो आकाश टाँसिदिएँ
टिम टिम ताराहरू सजाइदिएँ 
बीचमा चन्द्रमा थपक्क राखिदिएँ
आह्हा!
हजार रुपैयाँमै आउने आकाश!
आह्हा!
पसलमा किन्न सकिने जूनतारा! 

त्यसैले भन्छु महासय 
बजारवादी युगलाई गाली नगर्नुस् 
बजारको भएर पो ल्याउन सकेँ त
होइन भने 
गाईगोठको छाना माथिकै आकाश पनि
म कसरी ल्याउँ?
यो काम म 
कसरी गर्न सकुँ?

मलाई विश्वास छ 
आकाशका गीत, कविता वा कथा सुनाएर
आकाशका दार्शनिक कुरा गरेर 
ऊ मान्नेवाला 
पक्कै थिइन।

साउन ६, २०८१ सोमबार ११:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।