शान्ति डंगोलको प्रसव पीडा र खुसी : संयुक्त परिवारमा बस्दा सन्तान हुर्केको पत्तै पाइनँ

शान्ति डंगोलको प्रसव पीडा र खुसी : संयुक्त परिवारमा बस्दा सन्तान हुर्केको पत्तै पाइनँ

शान्ति डंगोल गृहिणीका साथसाथै व्यापारी पनि हुन्, जसले इन्द्रचोकमा रहेको एक सय २५ वर्ष पुरानो पसलमा चलाइरहेकी छन्। एक सय २० वर्ष आकाश भैरव मन्दिरमा रहेको किराना पसललाई उनी र उनको श्रीमान्ले लस्सी पसल हुँदै अहिले पूजा सामग्री बेचिरहेका छन्।

डंगोलले व्यवसायबाहेक अर्को विकल्प हेरेकी छैनन्। किराना बाहेकका सामान राख्दा उनले केही नयाँपन अनुभव गरेकी रहिछन्।

डल्लुमा जन्मिएकी उनले धेरै पढ्न पाइनन्। उनको बुवा महालेखा निरीक्षक कार्यालयमा सुब्बा थिए। त्यहि भएर उनले पनि त्यहि जागिर पाएकी थिइन्। करिब पाँच वर्ष त्यहाँ अनुभव बटुलेकी उनले विवाहपछि भने कामलाई निरन्तरता दिन पाइनन्।

०४२ सालमा उनले मागी विवाह गरिन्। संयुक्त परिवारमा उनको विवाह भयो। उनको श्रीमान् पाँचौं भाइमध्ये माइलो हुन्। त्यसबेला १६/१७ भएपछि नै छोरीको बिहे गर्न ढिलो भएको भनेर उनले सुनेकी थिइन्। तर, उनको विवाह भने २६/२७ वर्षको उमेरमा भयो, आमाबाले रोजेको केटासँग।

विवाहपछि उनले पूरै जीवन घरगृहस्थमा बिताइन्। उनका तीन सन्तान छन्। उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा शान्तिले आफ्नो मातृत्वसँगै संयुक्त परिवारमा सन्तान हुर्काउँदाको अनुभव यसरी साटिन्:

०००

आमाबाले रोजेको केटासँग मेरो विवाह भयो। सबैले विवाह गर्न ढिला भयो भन्थे, तर मलाई कहिल्यै पनि ढिला भएको जस्तो लागेन। हाम्रो बेलामा आमाबाले भनेपछि नाइँ भन्ने चलन नै थिएन अनि बिहे भएदेखि म पूरै घरमै व्यस्त भएँ। त्यसबेला हाम्रो किराना पसल थियो। सब ससुराले हेर्नुहुन्थ्यो।

म पसलमा नबसे पनि घरकै काममा अलमल भयो। लामो समय हामी संयुक्त परिवार भएर बस्यौँ। ०६८ सालपछि चाहिँ छुट्टा-छुट्टै बस्न थाल्यौँ। हाम्रो दुई छोरी र एक छोरा छ। पहिलो सन्तान त बिहे गरेको दुई/तीन वर्षपछि भएको हो। घरको काम, बच्चा हेर्ने सबै आफैँले गरेको हुँ। खासै गाह्रो जस्तो त लागेन।

गृहिणी भएको कारण उनीहरूलाई मज्जाले समय दिन पाएँ। छोरीहरूबीच डेढ वर्षको अन्तर छ अनि छोरा त कान्छी छोरी भन्दा पाँच वर्ष सानो छ। पहिलो पटक आमा बन्दा सबै नयाँ भएको अनुभव हुने रहेछ। पछि दोश्रो, तेश्रो हुँदा त बानी भएर हो कि यस्तै त हो भन्ने लाग्यो।

तीनै जनाको पेटमा आउँदाको समयमा खाना नरुच्ने भयो। खुट्टा सुन्निने जस्तो केहि पनि भएन। ठमठम परेर हिँड्थे। पाँच महिना चैँ पानी पनि खान सकेको थिएन। केहि पनि रुच्दै नरुच्ने भएको थियो। पछि बिस्तारै रुच्न थाल्यो। सुत्केरी भएपछि त फेरि सब ठिक!

मेरो तौल गर्भवतीको समयमा निकै कम भएको थियो। बाबुको समयमा त मेरो तौल ५० केजी पनि भएको थिएन। म दुब्लो भए पनि सबै सन्तानको तौल राम्रै थियो। बाबु त चार केजी जन्मिएको थियो। मेरो तौल कम हुँदा बच्चालाई दूधको समेत कमी भयो।

दिनभर घरकै काममा व्यस्त भएँ। साँझ पाँच बजेतिर व्यथा लागेको जस्तो भयो। राति ११ बजे त जन्माइसकेको थिएँ। मलाई अरुलाई जस्तो धेरै दिन व्यथा लाग्ने भएन। सायद घरकै काममा सक्रिय भएर पनि त्यस्तो बहेको हो कि! मैले त धेरै गाह्रो  भएको महसुस पनि भएन। अहिले त छोरी नै ३६ वर्षको भइसक्यो। धेरै कुरा त बिर्सिसकेछु।

जेठी छोरीलाई पहिलो पटक काखमा राख्दा निकै रमाएको चैँ याद छ। त्यो बेला आफैँलाई स्याहार गर्ने मानिस चाहिएको थियो। आमा दिदिबहिनीले सबै हेर्नुभयो। जे होस्, म मेरी छोरी देखेर खुब खुसी भएकी थिएँ। तीनै जना मेरो सन्तान अहिले हुर्किसके। सबै यतै छन्। दुवै छोरीको बिहे भइसक्यो। बाबुको हुन बाँकी छ। छोरीहरूबीच त धेरै उमेर अन्तर नभएर होला, उनीहरू सँग-सँगै हुर्किए।

छोरीहरू दुवैलाई बाहिर लैजाँदा अलि गाह्रो हुन्थ्यो। छोरो त पछि भएर त्यति गाह्रो भएन। संयुक्त परिवारमा बसेको कारण सबै भन्दा राम्रो चैँ सन्तानहरूको हुर्काइमा धेरै मद्दत भयो। मैले उनीहरू नै भनेर हेरेर बस्न पनि परेन। सासु, ससुरादेखि उनीहरूको फुपू, काकाहरूसँग खेलेर नै उनीहरू हुर्किए। त्यै भएर म उनीहरूलाई छोडेर जाँदा बाहिर ढुक्क भएर जान सक्थेँ।

तीनै जना सन्तान नर्मल डेलिभरीबाटै जन्माएको हुँ। हाम्रो चलन अनुसार सुत्केरी भएको एक महिना चैँ आफ्नै घरमा बसेँ। अनि मात्र माइती गएँ। घिउ चाकु त मैले मासु भन्दा पनि बढी खाएँ होला! मलाई पनि औधि मनपर्ने अनि दूध आउने, शरीर तगडा हुने त भइ नै हाल्यो। माइतीमा त झन् आरामको माहोल हुने नै भयो।

तर, तीनै जनालाई मेरो दूधले पुगेको भने होइन। सबलाई अलि छिट्टै ल्याक्टोजन खुवाउन परेको थियो। श्रीमान्ले पनि मलाई बच्चाहरूको लालनपालनमा निकै मद्दत गर्नुभयो। अनि उनीहरूको कान्छा काकाले पनि उनीहरूलाई निकै हेर्नुभयो। हामी भन्दा देवर बढी सक्रिय भएर बच्चाहरूलाई हेर्नुभएको थियो। बच्चाहरूलाई स्कुल पुर्याउनेदेखि उनीहरूको होमवर्क गर्न सहयोग गरिदिने अनि बिरामी हुँदासमेत उहाँले नै हेर्नुहुन्थ्यो।

घरभित्र परिवारमै यताउता गर्दै कति खेर उनीहरू हुर्किए पत्तो नै पाएन। उनीहरूले पनि आफ्नो परिवार राम्रोसँग चिनेको, बुझेको छ। सबैको माया पनि उनीहरुले पायो। मेरो तीनै जना सन्तान हुर्किदै जाँदा मेरो आमाले पनि हामीलाई यसरी नै हुर्काउनुभएको होला भनेर कहिलेकाहिँ त रुन पनि आउँथ्यो।

छोरा पाउने बेलामा अस्पतालमा ठूलोमम्मीको छोरी हुनुहुन्थ्यो। उहाँ र उहाँको साथीहरूको टीमले गर्दा मलाई त्यहाँ पनि गाह्रो भएन। मैले त बच्चा लिनै परेन। तर, छोरा एकदम रुन्चे जन्मिएको थियो। खै किन हो, निलै हुने गरेर समेत रुन्थ्यो। जन्मेदेखि स्कुल नगएसम्म उ रोएको थियो। डाक्टरदेखि झारफुकसम्म गरेँ। निको नै भएन।

छोरीहरूमा त त्यस्तो केहि पनि समस्या भएन। सानी छोरी धेरै नबोल्ने स्वभावको छ। सकेसम्म चुप लाग्न पर्ने खालको। अनि ठूली चैँ फेरि बोलिराख्न पर्ने। तीन जना सन्तान भएपछि पुग्यो भनेर हामीले अर्को सन्तानको योजना पनि बनाएनौँ।

आमा भनेको धेरै कुरा रहेछ। सबै जना परिवारमा भएको भएर मैले त्यस्तो केहि कमी महसुस त गर्न परेन। एक हिसाबले भन्दा मैले त पाइदिएको मात्र हो। परिवारको साथ भए आमालाई धेरै सहज हुने रहेछ।

मेरो एउटा छोरी अहिले छुट्टै बस्छ। उसलाई एक्लै बच्चा हेर्न काम गर्न निकै गाह्रो भइरहेको देखेको छु। उसले धेरै पढेको छ। काम पनि गर्छ अनि राम्रो आमा पनि हो ऊ। तर पनि परिवारसँगै नहुँदा गाह्रो भएको छ जस्तो लाग्छ मलाई।

आजकलको बच्चाहरूलाई छुट्टिएर बस्ने मन हुने रहेछ। त्यसले धेरै असहज पनि हुन्छ। बच्चा हुर्काउन त संयुक्त परिवारमै सहज हो। आमालाई आमा हुनको लागि परिवारको पनि ठुलो हात हुन्छ। बच्चालाई खुवाइदिने मात्र मान्छे भए पनि धेरै सहज हुन्छ। अहिले मेरो नातीनातिनी पनि छन्। उनीहरूलाई हुर्काउन पनि छोरीहरूलाई सुझाव दिनपर्ने हुन्छ।

एक चोटी आमा भएपछि सधैँ आमा हुने रहेछ। आमादेखि हजुरआमा हुँदासम्म आमाको कर्तव्य निभाउनै पर्छ।

साउन ६, २०८१ सोमबार ११:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।