रविलाई विनोद चौधरीको जवाफ- आइतबारको अभिव्यक्ति स्टन्टको मानसिकताको निरन्तरता

रविलाई विनोद चौधरीको जवाफ- आइतबारको अभिव्यक्ति स्टन्टको मानसिकताको निरन्तरता

काठमाडौं : नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए।

त्यही विषयमा सांसद चौधरीले जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले त्यसको आपत्ति जनाउँदै भनेका छन्, ‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन।’

सांसद चौधरीले लामिछानेमाथि विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर आफूमाथि प्रतिशोध साध्न खोजेको समेत आरोप लगाए। उनले रविको अभिव्यक्तिलाई स्टन्टको मानसिकताको निरन्तरता मात्रै भएको समेत बताए।

उनले अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा राजनीतिकरण गर्ने दुष्प्रयास गर्नु निन्दीय भएको बताएका छन्।

साउन ६, २०८१ सोमबार १०:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।