भारत नआए च्याम्पियन्स ट्रफी भारतविना नै खेलिन्छ : पाकिस्तानी क्रिकेटर हसन अली

भारत नआए च्याम्पियन्स ट्रफी भारतविना नै खेलिन्छ : पाकिस्तानी क्रिकेटर हसन अली

एजेन्सी : पाकिस्तानले सन् २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ।

भारत र पाकिस्तानबीच चलिरहेको राजनीतिक तनावका कारण भारतले पाकिस्तान भ्रमण नगर्ने खबर बाहिर आएको छ। भारतले पाकिस्तान भ्रमण नगर्ने खबर आइरहँदा पाकिस्तानी क्रिकेटर हसन अलीले कडा प्रतिक्रिया दिएका छन्।

साम टिभीसँग कुरा गर्दै उनले भने, ‘यदि हामी भारतसँग खेल्न जान सक्छौँ भने उनीहरु पनि पाकिस्तान आउनुपर्छ। खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ। फरक दृष्टिकोणबाट हेर्ने हो भने धेरै भारतीय खेलाडीले पनि आफ्नो अन्तर्वार्तामा पाकिस्तानमा खेल्न चाहेको बताएका छन्।’

उनले भारतीय टोली पाकिस्तानसँग खेल्न आउन चाहेको तर आफ्नो देश र बोर्डको निर्णय हेर्नुपर्ने बताए।

१९ फेब्रुअरी २०२५ देखि सुरू हुने यो प्रतियोगिता मार्च ९ सम्म चल्नेछ। च्याम्पियन्स ट्रफीको फाइनल खेल लाहोरको गद्दाफी स्टेडियममा हुनेछ।

हिन्दुस्तान टाइम्सका अनुसार बीबीसीआईले भारतका खेलहरू दुबई वा श्रीलंकामा सार्न आईसीसीलाई अनुरोध गर्ने बताइएको छ।

यी रिपोर्टहरूमा प्रतिक्रिया दिँदै पाकिस्तानी क्रिकेटर हसनले भने, ‘यदि भारतले पाकिस्तान आउन अस्वीकार गर्यो भने, यो प्रतियोगिता भारतविना नै खेलिनेछ।’

साउन ७, २०८१ सोमबार ०९:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।