राष्ट्रपति निर्वाचनको उम्मेदवारबाट पछि हटे बाइडेन

राष्ट्रपति निर्वाचनको उम्मेदवारबाट पछि हटे बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने आफ्नो निर्णयबाट पछि हटेका छन्।

बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन्। उक्त विज्ञप्तिमा उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन्।

रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ।

जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ थियो। उक्त बहसपछि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।

बाइडेनको तर्फबाट जारी विज्ञप्तिमा आफ्नो निर्णय राष्ट्र र पार्टीको हितमा रहेको भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। मैले फेरि चुनाव लड्ने मनसाय राखेको भए पनि आफ्नो उम्मेदवारी फिर्ता लिई आफ्नो कार्यकालको बाँकी अवधिमा राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान केन्द्रित गर्नु नै मेरो पार्टी र देशको हितमा हुने विश्वास लिएको छु।’

उनले आफ्नो निर्णयबारे थप जानकारी दिन राष्ट्रको नाममा सम्बोधन गर्नेछन्।

साउन ६, २०८१ सोमबार ०७:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।