महिला एसिया कपमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित

काठमाडौं : एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको छ।

श्रीलंकाको दाम्बुलामा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा पूरा गरेको हो।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोड्दा सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन्।

कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकिनन्। नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो।

नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिँदा फातिमा सानाले एक विकेट हात पारिन्।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन्।

उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोड्न सफल भइन् भने मुनिबा अलीले नटआउट ४६ रन जोडिन्।

नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो। नेपालका लागि एक विकेट कविता जोशीले लिइन्।

समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो। पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ।

एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन्।

समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ। समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकविहीन छ।

साउन ६, २०८१ सोमबार ०७:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।