सरकार बिचौलियाले चलाउने जोखिम रहेको वर्षमानको दाबी

सरकार बिचौलियाले चलाउने जोखिम रहेको वर्षमानको दाबी

काठमाडौँ : पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बिचौलियाले चलाउने जोखिम रहेको दाबी गरेका छन्। प्रतिनिधि सभामा जारी प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावबारे जारी बहसमा उनले सरकार गठनको प्रारम्भबाट सरकार बिचौलियाले चलाउने जोखिम देखिएको बताए।

सरकार गठनका लागि सुरु भएको प्रारम्भिक छलफलदेखिकै व्यवहार शङ्कास्पद देखिएकाले प्रधानमन्त्रीमा केपी ओलीमाथि विश्वास नभएको उनले बताए।

विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाबारे गरेको दाबी सत्य नभएको भन्दै उनले बिचमा विभिन्न सङ्क्रमणका कारण आर्थिक शिथिलता भए पनि अहिले बिस्तारै उकालो लागेको दाबी गरे।

‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रबारे र जनताहरूमा निराशाबारे बताउनुभयो। पछिल्लो दुई तीन वर्षमा कांग्रेस माओवादी , एमालेकोबीचमा गठबन्धन बन्यो। त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ। त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन’ उनले भने।

तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा ‘निराशाको कुरा के आधारमा गर्नुभएको’ भन्दै उनको भाषण लेख्नेको क्षमतामाथि प्रश्न उठाएका थिए।

तथ्याङ्कलाई बङ्ग्याएर भावनाको आधारमा चल्न नमिल्ने भन्दै उनले १९ महिनाको वस्तु आयात गर्न पर्यात विदेशी मुद्रा रहेको भन्दै प्रधानमन्त्रीको भाषण तथ्याङ्कलाई हेरेर मात्र लेख्न सुझाव दिए।

‘प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो। त्यसपछि तीन वर्षमा थुप्रै सङ्क्रमणहरू भए। अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ। गत वर्ष १.९ थियो। अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा हुँदा कसरी निराशाको कुरा गर्नुहुन्छ?’ उनले भने।

साउन ५, २०८१ आइतबार १६:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।