बङ्गलादेशबाट नेपाल आइपुगेका विद्यार्थी भन्छन् ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

बङ्गलादेशबाट नेपाल आइपुगेका विद्यार्थी भन्छन् ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

काठमाडौँ : विद्यार्थी आन्दोलनका कारण बङ्गलादेशमा हिंसा भड्किएपछि नेपाल आइपुगेको १७ जना नेपाली विद्यार्थीले बङ्गलादेशको अवस्था असहज रहेको बताए।

आइतबार हवाई र स्थलमार्ग हुँदै नेपाली विद्यार्थी नेपाल आइपुगेका हुन्। बङ्गलादेशको सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ नेपाली विद्यार्थीको उद्धार गरेको हो।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगलादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बङ्गलादेश सरकारले शुक्रवार रातीदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बङ्गलादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरूले ढाकामा सञ्चार विच्छेद गर्ने क्रम सुरु भएको र प्रधानमन्त्री समेत भागेर स्पेन पुगिसकेको आफूहरूले थाहा पाएको सुनाए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलिपा सापकोटाले नेपाली दूतावास मजबुत नभएको दुखेसो गरिन्।

‘दूतावासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ। यसो नगर्न अनुरोध गर्दछु,’उनले भनिन्।

दुई महिनाअघि बङ्गलादेश पुगेकी सदीक्षा बस्नेतले आफूहरू असुरक्षित भएपछि नेपाल फर्किएको सुनाइन।

‘ढाकाको अवस्था एकदमै संवेदनशील भइसकेको छ। निषेधाज्ञा सुरु भइसकेको छ। बङ्गलादेशको प्रधानमन्त्री नै भागेर स्पेन पुग्नुभएको खबर सुनेका छौँ। अवस्था चिन्ताजनक छ,’उनले भनिन्। सदीक्षासँगै विमानस्थलमा उत्रिएकी महिमा फागोले होस्टेलमा रहँदा गोलीको आवाजहरू सुनेको बताइन्। 

साउन ५, २०८१ आइतबार १५:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।