विश्वासको मत माग्दै प्रधानमन्त्री ‌ओलीले भने’ दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ’

विश्वासको मत माग्दै प्रधानमन्त्री ‌ओलीले भने’ दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ’

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले एमाले र कांग्रेसले पटक-पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठूला दल मिल्नुपरेको बताए। प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्न रुचि नदेखाएका कारण समाजमा दूषित परिणाम निस्किने खतरा बढेका कारण दुई दल मिल्नुपरेको बताएका थिए।

 ‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न। तर यति चाहिँ भन्छु कि कांग्रेस र एमालेले पटक पटक काँध हाल्दा समेत अघिल्लो सरकारले गति समात्न सकेन। सरकारले थिति बसाल्न सकेन। थिति बसाल्ने रुचि पनि राखेन। जसका कारण समाजमा अनेक दूषित परिणाम निस्किने खतरा बढ्यो। त्यसलाई टुलटुल हेरेर बस्न सकेनौँ’ उनले भने।

एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भए पनि खास समयमा सहकार्य गरेर परिणाम दिनेगरि काम गरेको उनले बताए। उनले कांग्रेस र एमाले विचारमा प्रतिस्पर्धा गरे पनि खास समयमा सहकार्य गरेको र देशलाई परिणाम दिएकै भन्दै २००७ सालमा राणा शासन अन्त्यका लागि एक भएको र त्यसपछि पनि थुप्रै कालखण्डमा एक हुँदै आएको उनले बताए।

उनले  संसद्मा भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई पनि नछाड्ने दाबी पनि गरे।

‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचारीलाई छोड्दैनौँ। भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको  छानबिन तथा अनुसन्धान गर्छ।’

उनले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान कांग्रेस र एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी समेत गरे।

देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको उनको तर्क थियो।

साउन ५, २०८१ आइतबार १५:१७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।