उपसभामुख मगरको विषयले सत्तापक्ष र प्रतिपक्षबीच वाकयुद्व सुरू, सशक्त देखियो प्रतिपक्षको स्वर

उपसभामुख मगरको विषयले सत्तापक्ष र प्रतिपक्षबीच वाकयुद्व सुरू, सशक्त देखियो प्रतिपक्षको स्वर

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा विपरीत अमेरिकी दूतावासलाई लेखेको पत्रको विषय आइतबारको संसद बैठकमा प्रवेश गरेको छ। यसबारे बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सशक्त मत बाझिएको छ।  

नेपाली कांग्रेसले उपसभामुख मगरको राजीनामा माग्यो। बैठकको आकस्मिक समयमा बोल्दै सांसद रामहरी खतिवडा उपसभामुख मगरलाई संसद्को कमाण्ड गर्न सुहाँउछ कि सुहाँउदैन भनि प्रश्न गरे। 

उनले उपसभामुखले अमेरिकाको भिसाका लागि लेखेको पत्रबारे उनले छानबिन गर्न माग गरे। 

'संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,' उनले भने। 

संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाउन चेतावनी दिए।

उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।

उनले भने, ‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिँन मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ। संसद चुप लागेर बस्नु हुँदैन। उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभएका हुन्छ।’

सांसद खतिवडालाई साथ दिए एमाले सांसद दामोदर पौडेलले। उनले उपसभामुख मगरको पत्र नै मानव तस्करी गरेको प्रमाण भएको आरोप लगाए। 

'मिडिया ट्रायल हो कि के हो पत्र आफैँ बोल्छ। स्वयं उपसभामुखको विज्ञप्ति पनि बोल्छ। मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले। लेनदेन छ भन्ने विज्ञप्तिमा आयो। यस्तो उपसभामुख चाहिएको होइन। संवैधानिक परिषद्को सदस्य चाहिएको होइन', उनले भने। 

उनले संसद्ले नछाड्ने चेतावनीसमेत दिए। 

तर, प्रतिपक्षको तर्फबाट बोलेका माओवादी सांसद माधव सापकोटाले उपसभामुख मगरको बचाउ गरे। 

सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको भन्दै राजनीतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिए। 

उनले भने, ‘उपसभामुखको एक वर्ष अगाडिको कुरा, राजनीतिक र नैतिक प्रश्न हो यो। यसलाई स्वीकार गर्नुपर्छ। संवैधानिक परिषदमा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाई लाइट गरिएको छ, साँच्चै यदि त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारका प्रति, मान्छेको चरित्र हत्या गर्नेका प्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ। राजनीतिक र नैतिक प्रश्नमाथि छलफल गर्न सकिन्छ। संवैधानिक परिषद्मा तपाईंहरूलाई रातारात के निर्णय गर्नुपरेको छ, त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले यसलाई सशक्त ढङ्गले प्रतिवाद गर्छौं। यो कुरा सबैलाई हेक्का होस्।’ 

त्यसपछि रास्वपाकी सांसद सुमना श्रेष्ठ बोलिन्। 

रामहरि खतिवडा पछि बोलेकी श्रेष्ठले उपसभामुख रानामाथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिइन्। 

उनले भनिन्- 'मानवतस्करीजस्तो ठूलो आरोप तपाईंहरूले यस्तो सजिलोसँग डिक्लेयर गर्नुभयो। डिक्लेयर गर्नु न त भुटानी शरणार्थी प्रकरण कसले गरेको हो? त्यो आँट छ? एउटा महिला जसले यस्तो कठिन समयबाट यो ठाउँमा आउनुभएको छ। उहाँलाई हेप्न नखोज्नुहोला। एक वर्ष अगाडिदेखि पत्र हातमा राखेर बसिरहनुभएको रहेछ, कुन बेला ठोकौं भनेर। ल्याङल्याङ मिडिया ट्रायल गरेर चरित्रहत्या गर्न खोज्ने? साँच्चै छानबिन गर्ने भए पार्टी तयार छ। संवैधानिक परिषदमा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र एक प्रधानन्यायाधीश छन्। त्यहाँ बहुमत पुर्याउनु परेको होला। माग्नुस् न हो माग्नुस्। दिउँला।'

यसैबीच कांग्रेस-एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि ओलीले विश्वासको मत लिने दिन आजको बैठकमा प्रतिपक्ष दलको आवाज सशक्त देखिएको छ।  दुई ठूला दल मिलेर सरकार बनाउदैगर्दा प्रतिपक्ष कमजोर हुने चिन्ताका बीच आजको बैठकले उपसभामुखको विषयमा प्रतिपक्षको 'स्पिरिट' सशक्त देखिएको हो। 

गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी हुन भन्दै उपसभामुख मगरले उपसभामुखको हैसियतमा लेटरप्याडमा आफूसहित ६ जनाको नाम लेखेर भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा पठाएको पत्र सार्वजनिक भएपछि उनी मानव तस्करीमा तानिएकी छिन्।

त्यसपछि उपसभामुख मगरले ‘करुणाभावले सहयोग गर्न खोजेको विषयलाई पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफू विरुद्ध नियोजित कदम रहेको’ तर्क गर्दै विज्ञप्ति जारी गरेकी थिइन्। 

आइतबार आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख राना अनधिकृत व्यक्तिहरूलाई अमेरिकाको भिसा लगाएर मानव तस्करीको प्रयास गरेको गम्भीर आरोपमा तानिएपछि रास्वपाले आधिकारिक धारणा सार्वजनिक गर्दै पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको भन्दै विज्ञप्ति निकालेको छ। 

अमेरिका लगायतका देशको भिसा लगाउन यस अगाडि सांसदहरूको राहदानीको दुरुपयोग गरेको सार्वजनिक हुँदा उनीहरूमाथि मुद्दा समेत चलेको थियो। कलाकार, गैर सरकारी संस्थाका प्रतिनिधिहरूले समेत विभिन्न बहानामा व्यक्तिहरूलाई भिसा लगाएर लगेर उतै छाडेर आउने गरेको पटक-पटक सार्वजनिक हुने गरेको छ। यो अवैध मानव ओसारपसार अनुसार अनुसन्धानको दायरामा पर्छ।

सम्बन्धित समाचार :

साउन ५, २०८१ आइतबार १४:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।