असुरक्षित बन्दैछ बुटवल

असुरक्षित बन्दैछ बुटवल

बुटवल : बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य-मुख्य क्षेत्रहरूलाई २४ सै घण्टा खुल्ला गर्नेगरी योजना अघि बढाएको छ। तर, यहाँ पछिल्लो केही समययता आपराधिक गतिविधि बढ्न थालेपछि २४ सै घण्टा होटल खुल्ला गर्न दिने वा नदिने भन्नेबारे पुनर्विचार गर्नुपर्ने मागहरू उठ्न थालेका छन्। 

बुटवल उपमहानगरपालिको १५ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई रात्रिकालीन शहर बनाउने उद्घोष गरेका थिए। त्यति मात्र हैन, बुटवल भ्रमण वर्ष घोषणासँगै ‘घुमौं बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धि गर्ने कार्यक्रम समेत अगाडि सारिएको बताएका थिए।

तर, पछिल्लो समय बढ्दै गएको आपराधिक क्रियाकलापले बुटवल असुरक्षित बन्दै गएको छ। बुटवल शान्त र व्यवस्थित शहरका रुपमा चिनिँदै आएको भएपनि पछिल्ला दिनहरूमा भने यहाँका होटलमा मारपिट, चक्कु प्रहार गरेर हत्या सम्मको घटना भइरहेका छन्।

गत जेष्ठ २ मा कालिकानगर स्थित मन्टोना रेष्टुरेन्टमा एक युवकमाथि चक्कु प्रहार भएको थियो। राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्यसमेत रहेका बुटवल–७ का ३६ वर्षीय रवि थापामाथि चक्कु प्रहार भएको हो। 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा असार १८ गते निधन भएको थियो।

उनको हत्यापछि फरार भएका बुटवलका किशोर कुँवर र कुस्मन कार्कीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। 

त्यस्तै, शुक्रबार साँझ ९ बजे बुटवल–११ देविनगरमा युवाहरूबीच आपसमा कुटपिट हुँदा २ जना घाइते भए। देविनर प्रहरी बिट नजिकै रहेको ‘दिकफी’ पसलभित्र युवाहरूबीच आपसमा चक्कु हानाहान भएको खबर पुगेपछि प्रहरी पुगेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

त्यस क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका–५ का ३० वर्षीय दिवस मल्ल र बुटवल–१२ बस्ने २५ वर्षीय पवन शाही दुबै जनाको टाउको र हातमा चोट लागेको छ। घाइते भएका उनीहरुको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घट्नामा संलग्न रहेको आरोपमा बुटवल–१३ जितगढी बस्ने २३ वर्षीय विष्णु थापा र तिलोत्तमा नगरपालिका–३ बस्ने २३ वर्षीय अनुप भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी डीएसपी पण्डित आएपछिमात्रै यी दुई आपराधिक घटना घटे। कतिपय घटना मेलमिलाप गरेरै टुंगाउदा बाहिर आएका छैनन्। 

डीएसपी पण्डित यतिबेला बुटवल असुरक्षित हुँदासमेत गम्भीर कदम नचालेको भन्दै आलोचित भइरहेका छन्।

रविको हत्या गरी फरार भएकाहरुसमेत लामो समय पक्राउ पर्न सकेनन्। घटनाको अनुसन्धानका क्रममा रविको हत्या भएको होटलसमेत चल्न दिएको भन्दै प्रहरी प्रशासनको आलोचना भयो।

त्यसपछि युवा संघले डीएसपी पण्डितलाई ज्ञापन पत्र नै बुझायो। 

बुटवलको तीनकुने देखि योगिकुटी सम्मको कालिकापथमा दैनिकजसो हुने गरेका झै-झगडा अनि ग्याङ फाइटकासमेत घटनाहरू सार्वजनिक भइरहेका छन्।

कालिकानगर क्षेत्रका क्लब तथा दोहोरी घरहरूमा हुने झै-झगडाले स्थानीयहरू आजित छन्। 

रातको समयमा क्लब तथा दोहोरी घरबाट निस्कँदा युवाहरूको समूहले गर्ने व्यवहारका कारण त्यस क्षेत्रका स्थानीयहरूले हैरानी खेप्दै आएका छन्। अश्लील शब्द बोल्ने, चर्को आवाजमा मोटरसाइकल कुदाउने जस्ता गतिविधिहुँदा समेत प्रहरीले चासो नदिएको गुनासो उनीहरुको छ।

बुटवल न्यू होराईजन चोकका अनिस मगरले रातको समयमा प्रहरीले बढि भीडभाड हुने होटल, रेष्टुरेण्ट अगाडि गस्ती बढाइदिएमा स्थानीयहरूले हैरानी खेप्नु नपर्ने बताए।

‘कम्तीमा उनीहरू निस्कने बेलामा प्रहरीले २/३ पटक गस्ती बढाएमा स्थानीयहरूलाई धेरै राहत हुन्थ्यो। यस विषयमा हामीले प्रहरीलाई कुरा राखिसकेका पनि छौं’ उनले भने।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भुसालले होटल तथा रेष्टुरेन्टहरुमा कुटपिटका घटना हुनु दुखद भएको भन्दै मर्यादित रुपमा पेशा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न प्रशासनलाई आग्रह गरे।
 
‘होटल, रेष्टुरेण्टमा घटना घट्दा राजनीतिक दलहरूले जोगाउने कारणले पनि अहिले लफडा बढिरहेको छ। घटना घटाउन सक्ने व्यक्तिलाई निगरानी गर्नुपर्नेमा उल्टै संरक्षण हुने काम भइरहेको छ’ उनले भने।

उनले राजनीतिक आडमा गुण्डागर्दी गर्नेहरूलाई पक्राउ गरी कारबाही नगर्दासम्म बुटवल असुरक्षित हुने तर्क गरे। 

‘जो नाइके हुन्, उनीहरुलाई पक्राउ गरी कारबाही गरेमा यस्ता घटना घट्दैनन्। तर, पक्राउ पर्नसाथ राजनीतिक दलका नेताहरु छुटाउन पुग्छन्। यो दुखद हो,’ उनले भने।

यता, बुटवलका डीएसपी पण्डितले आफूहरूले रातको समयमा गस्ती बढाउँदै शान्ति-सुरक्षा कायम गरेपनि व्यवसायीहरूले गर्ने आन्तरिक शान्ति-सुरक्षा फितलो हुँदा घटना घटिरहेको बताए।

‘सानो कुटपिटको घटना लुकाउँदा अपराध गर्नेहरूको मनोबल बढेको छ। ठूला घटना भएमात्र बाहिर ल्याउने परिपाटी छ। हामीले हाम्रो जनशक्ति परिचालन गरेर शान्ति-सुरक्षामा लागेको भएपनि व्यवसायी स्वयंले आन्तरिक शान्ति-सुरक्षामा हेलचक्राई गरेका छन्’ उनले भने।

उनले होटल तथा रेष्टुरेण्ट क्षेत्रमा शान्ति-सुरक्षा कायम गर्ने विषयमा बारम्बार व्यवसायीहरूसँग छलफल समेत गरिरहेको बताए। 

होटलमा आउने ग्राहकहरूको निगरानी, बाउन्सरको भुमिका राम्रो भएको अवस्थामा यस्ता घटनामा कमी आउने उनको भनाइ छ। 

उनले शान्ति-सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामरा समेत जडान गर्नुपर्ने र यसो भएमा घटना घटिहाले अपराधी पहिचानमा बल पुग्ने बताए।

‘तोकिएको समयमै होटल तथा रेष्टुरेण्ट बन्द गरेका छौं। अटेर गर्ने सञ्चालकलाई ल्याएर थुनेका पनि छौं। तर, उहाँहरूको कतिपय गलत व्यवस्थापनले पनि होटलहरूमा नहुनुपर्ने घटना भएका छन्’ उनले भने।

साउन ५, २०८१ आइतबार ०९:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।