विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्कट्टेल, यस्तो छ अंकगणित

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्कट्टेल, यस्तो छ अंकगणित

काठमाडौं : केन्द्रमा नयाँ समीकरण फेरिएपछि एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।

दिउँसो १ बजे बस्ने  प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने जनाइएको छ।

गत असार २४ मा एमालेका पाँच मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ।

नयाँ समीकरणअनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन्। केन्द्रीय सहमतिअनुसार एमालेसँगका सहकार्यमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने छ। 

प्रदेशसभामा एमालेका २७ र कांग्रेसका ३७ सांसद छन्।

त्यस्तै, १३ सांसद रहेको राप्रपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ। 

मुख्यमन्त्री जम्कट्टेललाई उनको पार्टी माओवादीका २१, एकीकृत समाजवादीका ७ सांसद र हाम्रो नेपाली पार्टीका दुई जना सांसदले विश्वासको पक्षमा मतदान गर्नेछन्। 

जम्कट्टेल गत २०७९ पुसमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

साउन ५, २०८१ आइतबार ०८:०६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।