महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै नेपाल

महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं : श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ। 

नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरू हुनेछ। 

नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वी विरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो। 

आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २ः१५ बजे सुरू हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। 

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ। 

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्।

साउन ५, २०८१ आइतबार ०७:११:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।