सिमलताल पहिरोमा परेका ६० मध्ये २५ शव फेला पर्‍यो, १७ जनाको सनाखत

सिमलताल पहिरोमा परेका ६० मध्ये २५ शव फेला पर्‍यो, १७ जनाको सनाखत

काठमाडौँ : चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार करिब ६० यात्रुमध्ये शनिबारसम्म २५ जनाको शव फेला परेको छ। तर आठ जनाको सनाखत हुन सकेको छैन। नेपाल प्रहरीका अनुसार शनिवारसम्म १७ जनाको सनाखत भएको छ। 

असार २८ बिहान सडक माथिबाट आएको लेदोले बगाएर बसलाई खोलामा पुर्याएको थियो। नेपाली उद्दारकर्ताले बस फेला पार्न नसकेपछि भारतबाट शनिवारै टिम नेपाल आएको छ।

विपद्मा खोजी तथा उद्धारमा केन्द्रित रहेर तालिम केन्द्र चलाइरहेको सशस्त्र प्रहरी समेत सिमलताल दुर्घटनामा प्रभावहीन देखियो। सशस्त्रको टिम दुर्घटनास्थलमा खोजी र उद्धारमा केन्द्रित हुनुभन्दा प्रचारमा बढी केन्द्रित देखिन्थ्यो।

खोजी तथा उद्धारमा सशस्त्रले जनशक्ति उत्पादन गर्दै आएको छ। नेपाल प्रहरीमा सशस्त्रले तालिम दिएको एक जनामात्र गोताखोर छ। खोज तथा उद्धारमा नेपाली सेनाको जनशक्ति समेत सक्षम नभएपछि सरकारले भारतबाट जनशक्ति मगाएको छ।

लेदोमा बगेर वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा बगेर त्रिशूली नदीमा पहिरोसँगै खसेको थियो।

शनिवार दिउँसोसम्ममा ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोक कुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम,राजेन्द्र लामिछानेको सनाखन भएको नेपाल प्रहरीको समाचार कक्षले जानकारी दिएको छ।

६ वटा पुरुषको शव  र दुई महिलाको शव फेला परेको छ। तर सनाखत भएको छैन। बाढीले बगाएका शव भारतीय क्षेत्रमा समेत पुगेका छन्। केही शव भारतबाट समेत ल्याइएको थियो।

साउन ४, २०८१ शनिबार २२:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।