संघमा मन्त्रालय नपाएको जनमत पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

संघमा मन्त्रालय नपाएको जनमत पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौं : जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

पार्टीका प्रवक्ता डा शरदसिंह यादवका अनुसार कांग्रेस-एमालेले मधेश प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले संघीय सरकारका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको हो।

‘हाम्रो पार्टीको सुरू देखिनै प्राथमिकतामा मधेश प्रदेश सरकार थियो। प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले संघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ,’ प्रवक्ता यादवले भने।

प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्। तर, जनमत पार्टी संघीय सरकारमा सहभागी छैन। सरकारमा जान चाहे पनि जनमतलाई कांग्रेस-एमालेले मधेश सरकारको नेतृत्वमै चित्त बुझाउ भनेको उपाध्यक्ष अब्दुल खानले बताए। 

‘के कारणले गइएन भन्दा पनि लगिएको भन्ने कुरा छ’, उनले भने, ‘मधेश सरकारको नेतृत्व तपाईँहरूलाई दिइयो भनेर अहिले टार्नुभएको छ। केही दिन कुर्नुस्, मधेश सरकार चलाउनुस्, पछि सामेल गराउँला भन्नुभएको छ।’ 

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।  

साउन ४, २०८१ शनिबार १९:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।