डा. पलेस्वाँको उपचार अनुभव : श्रीमानले क्यान्सर लागेकी श्रीमतीलाई अस्पतालको बेडमै अलपत्र पारेर छोडेर हिँडेपछि..

डा. पलेस्वाँको उपचार अनुभव : श्रीमानले क्यान्सर लागेकी श्रीमतीलाई अस्पतालको बेडमै अलपत्र पारेर छोडेर हिँडेपछि..
तस्वीर : कृष्पा श्रेष्ठ/उकेरा

प्रा.डा. पलेस्वाँ जोशी लाखे सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजीष्ट (जिआई) शल्य चिकित्सक हुन्। सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी (जिआई) विषयमा नेपालमै एमसीएच (चिकित्सा शिक्षा विद्यावारिधि) अध्ययन गर्ने उनी पहिलो चिकित्सक हुन्। 

प्रा. डा. पलेस्वाँ त्रिवि शिक्षण अस्पतालको ग्याष्ट्रो सर्जरी विभाग (डिपार्टमेन्ट अफ सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी) को प्रमुखको भुमिकामा कार्यरत छिन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई पढाउने अनि बिरामीको औषधि उपचार तथा  शल्यक्रिया गरी बिरामीलाई सञ्चो बनाउनु डा. पलेस्वाँको दैनिकी हो। 

उनले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेको अनुभव उकेरासँग यसरी साटिन् :

000

क्यान्सर लागेकी श्रीमतीलाई अस्पतालको बेडमै अलपत्र पारेर श्रीमानले छोडेर हिँडेपछि...
घटना केही वर्षअघिको हो। दुर्गमको गाउँतिरबाट करिब ४० वर्षकी महिलालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइयो। ती महिलालाई उनका श्रीमानले अस्पताल पुर्याएका थिए। अस्पताल पुयाईएपछि उनलाई प्यांक्रियाजको क्यान्सरको शल्यक्रिया गर्नुपर्ने भयो। 

डा. पलेस्वाँको टिमले ती महिलाको प्यांक्रियाजको क्यान्सरको जटिल शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो। त्यसपछि ती महिलाको स्वास्थ्यमा सुधार हुँदै गएको थियो। 

तर, शल्यक्रिया गरेको दश दिनमा ती महिलाको एक्कासि रक्तश्राव भयो। अनि चिकित्सकको टिमले थप उपचारका लागि औषधि तथा स्वास्थ्य सामग्री उनका श्रीमानलाई ल्याउन लगाए। तर, ती महिलाका श्रीमान त उपचारका सामग्री ल्याइदिनुको सट्टा श्रीमतीलाई अस्पतालको बेडमा अलपत्र छोडेर घरतिर पो लागेछन्। 

त्यसपछि तनाव भयो। ती महिलाका श्रीमान अस्पतालबाट भागेको थाहा भयो। धन्न ती महिलाका फुपूका छोरा अस्पताल पुगेका रहेछन्। त्यसपछि उनैले आवश्यक सामग्री ल्याइदिएछन्। तब चिकित्सकको टिमले ती महिलाको नसाबाट पाइप पठाएर रत्तश्राव भइरहेको नसालाई बन्द गरिदियो। अनि रक्तश्राव रोकियो। 

संयोगले ती महिलाको ज्यान बाँच्यो। केही दिनपछि ती महिला डिस्चार्ज भएर घर फर्किइन्। तर, त्यतिञ्जेल सम्म पनि ती महिलाका श्रीमान अस्पताल फर्किएनन्। 

निको भएर घर फर्किएको करिब ६ महिनापछि ती महिला फलोअपका लागि त्रिवि शिक्षण अस्पताल पुगिन्। डा. पलेस्वाँसँग ती महिलाको भेट भयो। त्यहीबेला डा. पलेस्वाँले ती महिलालाई ‘श्रीमानसँग भेट भयो त?’ भनेर सोधिन्। ती महिलाले उनलाई घरमा नै भेटिएको जवाफ दिइन्। ती महिलाले अस्पतालको बेडमा अलपत्र पारेर छोडेर हिँड्ने श्रीमानसँग ‘सँगै बस्छु’ भनेको सुन्दा डा. पलेस्वाँलाई मनमनै खुलदुली चल्यो नै। त्यो घटना सम्झँदा अझै उनको मन चसक्क हुन्छ। 

बेलाबखत यस्ता घटना हुने गरेको उनको अनुभव छ। यस्ता बेवारिसे रुपमा छोडिएका बिरामीलाई चिकित्सक तथा अस्पतालले नै उपचार व्यवस्थापन गरिदिने गरेको उनले अनुभव सुनाइन्।

पढाइमा अब्बल, डाक्टर बन्ने रहर
२०२६ मा ललितपुरको सानेपामा जिन्मिएकी पलेस्वाँले जावलाखेलस्थित सेन्टमेरिज स्कुलबाट २०४२ मा एसएलसी उत्तीर्ण गरिन्। एसएलसीमा राम्रो नम्बर आएकाले उनले रत्नविद्या पदकसमेत पाएकी थिइन्। एसएलसीपछि अमृत साइन्स क्याम्पसमा आइएस्सी पढिन्। आइएस्सीमा पनि नतिजा राम्रो भएकाले उनले ऐश्वर्य विद्यापदक पाइन्।  

आइएस्सीपछि पलेस्वाँ सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि पाकिस्तानको लाहोरस्थित ‘फातिमाजिन्ना मेडिकल कलेज फर विमेन’ मासन् १९८९ पुगिन्। जहाँ महिलाले मात्रै पढ्न पाइन्थ्यो। सन् १९९५ मा उनको एमबीबीएस पूरा भयो। 

उनकी आमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। त्यसैले पनि घरकी जेठी छोरी उनलाई डाक्टर नै पढ्ने माहौल बन्यो। दुई छोरी र दुई छोरा गरी चार सन्तानमध्ये उनी मात्रै डाक्टर रहिछन्। ९० वसन्त पार गरिसकेकी आमाले अझै उनलाई चिकित्सकीय पेसाको ज्ञान तथा अनुभव सिकाउँछिन्। उनका वुवा भने स्वर्गवास भइसकेका छन्। 

सर्जन बन्ने खोजी
एमबीबीएस अध्ययनपछि उनले पाकिस्तानमा नै इन्टर्नसिप गरिन्। इन्टर्नसीपमा ६ महिना मेडिसिन र ६ महिना सर्जरी विभागमा काम गरिन्। 

त्यो बेला त्यहाँ सर्जरी विभागकी प्राध्यापक खाल्दा ओस्मानी थिइन्। उनै ओस्मानीको प्रेरणाका कारण समेत पलेस्वाँलाई सर्जरीतर्फ बढी चासो बढ्दै गयो। तर, त्यो बेला सर्जरी विषय त पुरुषले पढ्ने विषय हो भन्ने किसिमको धारणा थियो। उनले त्यसलाई चुनौती दिने सोच गरेर अघि बढिन्। पाकिस्तानमा एमबीबीएस अध्ययन सकेर उनी नेपाल फर्किइन्।

नेपाल फर्किएपछि डा. पलेस्वाँलाई सर्जरी सम्बन्धी विभागमा नै काम गर्ने इच्छा थियो। त्यसैले उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा जागिरका लागि पुगिन्। पाटन अस्पतालमा त्यो बेला उनलाई सर्जरी विभागमा जागिरमा लिइएन। त्यसपछि उनी जागिर खोज्दै वीर अस्पताल पुगिन्। तर, त्यो बेला वीरमा सर्जरी विभागमा जागिरका लागि कोटा रहेनछ। त्यसैले अन्य विभागमा भए जागिर दिने बताइयो।

तर, जसरी पनि सर्जरी विभागमै काम गर्ने इच्छा भएकी डा. पलेस्वाँ जागिर खोज्दै त्रिवि शिक्षण अस्पताल पुगिन्। त्यहाँ उनले सर्जरी विभागका तत्कालीन प्रमुख प्रा.डा. गोविन्द प्रसाद (जीपी) शर्मालाई भेटिन्। डा. जीपी शर्माले भने सर्जरी विभागमा नै काम गराउन राजी हुँदै पलेस्वाँलाई अस्पतालमा भर्ना लिए। त्यसपछि उनी त्रिवि शिक्षण अस्पतालको सर्जरी विभागमा मेडिकल अधिकृतका रुपमा करार जागिरे भएर काम गर्न थालिन्। त्यहाँ डा. पलेस्वाँले जनरल सर्जरीलगायत विभिन्न सर्जरी विभागमा करिब डेढ वर्ष काम गरिन्।

जनरल सर्जरीको अध्ययन
डा. पलेस्वाँलाई सर्जरी विषयमा थप अध्ययन गर्नु थियो। छोरी क्यान्सरको उपचार गर्ने डाक्टर बनोस् भन्ने उनका बुवाको इच्छा पनि थियो। क्यान्सरको उपचार गर्नेमध्ये एउटा विषय सर्जरी पनि हो। 

त्यसैले स्नातकोत्तर तहको जनरल सर्जरी (मासटर्स इन सर्जरी/एमएस) विषयमा अध्ययनका लागि डा. पलेस्वाँले सन् १९९७ मा त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा प्रवेश परीक्षा दिइन्। तर, त्यो बेला उनको नाम ‘वैकल्पिक/वेटिङ लिष्ट’मा मात्रै निस्कियो। त्यही समयमा उनको विवाह डा. सञ्जय लाखेसँग भयो। उनीहरुका दुई जना छोरी छन्। 

विवाहको कारण आफ्नो चिकित्सकीय कार्यमा केही समय रोकिएकी डा. पलेस्वाँले फेरि महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमएस अध्ययनका लागि छनोट परीक्षा दिइन्। फेरि पनि उनको नाम ‘वेटिङ लिष्ट’मै निस्कियो। तर, प्रवेश परीक्षामा छनोट भएकामध्ये एक जना विदेश गएछन्। त्यसैले डा. पलेस्वाँले त्यहाँ स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा अध्ययन गर्ने मौका पाइन्। 

सन् १९९८ मा उनी जनरल सर्जरी विषय अध्ययनका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसमा भर्ना भइन्। अध्ययनको क्रममा पाटन अस्पतालमा तीन महिना र कान्ति बाल अस्पतालमा तीन महिना पोष्टिङ भएर काम गरिन्। सन् २००१ मा उनको एमएस अध्ययन पूरा भयो। 

एमएसमा राम्रो अंक आएकैले उनले त्यो ब्याचमागोल्ड मेडल समेत पाइन्। एमएस सकेपछि उनले महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै फ्याकल्टिका रुपमा बिना तलब भोलेन्टियर भएर काम गर्न थालिन्। त्यसपछि क्याम्पसमा चिकित्सा शास्त्रका विद्यार्थी पढाउने अनि शिक्षण अस्पतालमा बिरामीको औषधि उपचार तथा शल्यक्रिया गर्ने जस्ता उनका काम भए। काम गर्न थालेको करिब डेढ वर्षपछि मात्रै उनले तलब पाउन थालिन्। 

त्यही बीचमा उनले करिब ६ महिना सुत्केरी बिदा लिइन्। त्यसपछि भने डा. पलेस्वाँ २०६० मा महाराजगञ्ज चिकित्सा क्याम्पसमा लेक्चररका रुपमा स्थायी भइन्। अब चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने र अस्पतालको जनरल सर्जरी विभाग अन्तर्गत रहेर शल्य चिकित्सकको रुपमा काम गर्नु उनको दैनिकी भयो।
 
सर्जरीमा पनि उनको प्राथमिकता पाचन क्रियासँग सम्बन्धित थियो। कतिपयले महिला भएकाले स्तनको सर्जरीमा केन्द्रित हुन पनि सुझाव दिएका थिए। तर, उनलाई त्यतातिर धेरै रुची थिएन। बरू सर्जरीमा पनि उनलाई बालबालिका सम्बन्धी सर्जन बन्ने इच्छा थियो। 

नेपालमा नै सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजीमा विद्यावारिधि गर्ने पहिलो चिकित्सक
डा. पलेस्वाँको सन् २००८ मा चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी (जीआई) विषयमा विद्यावारिधि सरहको विशिष्ठिकृत तहको एमसीएच अध्ययन सुरू भयो। यसका लागि उनले छनोट परीक्षामा उत्तीर्ण भएर जीआई विषयमा एमसीएच अध्ययन सुरू गरिन्। सन् २०११ मा उनको तीन वर्षे एमसिएच अध्ययन सकियो। 

डा. पलेस्वाँ नै सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी विषयमा एमसीएच अध्ययन गर्ने नेपालकै पहिलो चिकित्सक रहिछन्। 

उनी सर्जिकल ग्याष्ट्रो इन्टरेरोलोष्टिका रुपमा विशेषगरी प्यांक्रियाज, आमाशय र गलब्लाडर (पित्तथैली)को शल्यक्रियामा बढी केन्द्रित हुन्छिन्। पाचननली तथा प्रणालीमा भएको क्यान्सर तथा ट्युमरलगायत समस्याको शल्यक्रिया गरी उपचार गर्नु उनको दैनिकी हो। खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्त थैली, कलेजो, ठूलो आन्द्रा, सानो आन्द्राजस्ता अंगमा लाग्ने रोगको शल्यक्रिया गरी उपचार गर्ने चिकित्सकीय विधा हो उनको।

उनीसँग एमसिएच अध्ययनकै क्रममा तीन महिना दक्षिण कोरियाको एक अस्पतालमा काम गरेको अनुभव छ। त्यहाँ उनले प्यांक्रियाज, आमाशय र गलब्लाडरको क्यान्सरको शल्यक्रिया सम्बन्धी थप ज्ञान तथा सीप सिक्ने मौका पाइन्। 

डा. पलेस्वाँ बढुवा भएर एशोसियट (सह) प्रोफेसर  हुँदै प्राध्यापक भइन्। सन् २०१६ मा त्रिवि शिक्षण अस्पतालमा जनरल तथा ग्याष्ट्रो सर्जरी विभाग स्थापित भयो। उनी सन् २०१९ मा सो विभागको प्रमुख भइन्। त्यही वर्ष जनरल र ग्याष्ट्रो सर्जरी विभाग छुट्टा-छुट्टै बने। त्यसपछि उनी ग्याष्ट्रो सर्जरी विभाग (डिपार्टमेन्ट अफ सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी) को प्रमुख बनिन्। अहिले पनि उनी सोही विभागको प्रमुख छिन्। 

महिला सर्जन भनेपछि नाक खुम्च्याउँथे
कतिपय बिरामीले महिला डाक्टर भनेर हालसम्म पनि नपत्याउने गरेको अनुभव डा.पलेस्वाँले अनुभव सुनाइन्। अस्पतालको ओपीडिमा बसिरहेका बेला 'डा.पलेस्वाँ भनेको को रहेछ केटा हो की, केटी हो की, रसियन हो की वा कहाँको को डाक्टर रहेछ' भनेर नामकै कारण समेत  कतिपय बिरामी हेर्न आउने गरेको उनको अनुभव छ। 

नेवारीमा ‘पलेस्वाँ’ भनेको कमलको फूल हो। त्यसैले फूलको नामबाट नै उनको नाम राखिएको रहेछ।

‘मलाई यतिसम्म पनि थाहा छ की, डा. पलेस्वाँ भनेको को हो भन्दै बिरामी आउँथे, अनि म हो डा. पलेस्वाँ भनेपछि एक्छिन मेरो मुख हेरेर जान्थे,’ उनले सुनाइन्।

कयौं बिरामीले महिला सर्जन भनेपछि नाक नै खुम्च्याउने गरेको समेत उनले अनुभव सुनाइन्। अहिले पनि कयौं बिरामीले उनलाई नर्स नै होलिन् भन्ठान्छन्। सुरुसुरुमा त उनलाई नर्सको रुपमा लिँदा चित्त दुख्थ्यो। तर, बिस्तारै बिरामी तथा बिरामी पक्षले उनलाई चिकित्सककै रुपमा चिन्दै गए। 

आफू राम्रो ज्ञान र सीप भएको सर्जन हो भनेर बिरामी पक्षलाई विश्वासमा लिन निक्कै मेहनत गर्नु परेको उनले अनुभव सुनाइन्। अहिले त उनलाई विश्वास गरेर डा. पलेस्वाँसँगै शल्यक्रिया गर्छु भन्दै आउने बिरामीको चाप कम छैन। 

बिरामी तथा बिरामी पक्षको राम्रोसँग कुरा सुनेर राम्रोसँग कुराकानी गरिदिने हो भने करिब ५० प्रतिशत बिरामीको समस्या कम हुने डा. पलेस्वाँको अनुभव छ। तर, औषधि उपचार तथा शल्यक्रिया गरिएकामध्ये सतप्रतिशत बिरामी बाँच्छन् नै भन्ने एकिन हुँदैन। कहिलेकाहीँ बिरामीलाई बचाउने कोसिस गर्दागर्दै बिरामीको मृत्यु हुनसक्छ। यस्तो बेला बडो संयमित भएर बिरामीका आफन्तलाई मृत्युको खबर सुनाउनुपर्ने उनले बताइन्। हालसम्म आफूले शल्यक्रिया गरिएका कोही बिरामीको पनि शल्यक्रिया गर्दागर्दै अप्रेशन टेबुलमा नै ज्यान नगएको पनि उनले सुनाइन्। 

औषधि उपचार तथा शल्यक्रियापछि ठिक भएर घर फर्केका बिरामी तथा बिरामीका आफन्त  चिकित्सकप्रति शब्दमा व्यक्त गरेर होस वा व्यक्त नगरी कृतज्ञ हुँदै धन्यवाद दिएर घर फर्किने गरेको उनले अनुभव सुनाइन्। समस्या ठिक नहुँदा कतिपय बिरामी भने चिकित्सकलाई गाली समेत गर्ने उनको अनुभव छ। 

उपचार गरेकामध्ये कतिपय पाको उमेरका व्यक्तिले उपचारपछि ठिक भएर कृतज्ञ हुँदै डा. पलेस्वाँलाई ‘आमा’ भनेर समेत सम्बोधन गरेको समेत उनलाई सम्झना छ। चिकित्सकले बिरामीको उपचारमा अथक मेहनत नै गर्ने र आफूले उपचार गरेको बिरामी ठिक होस् नै भन्ने भावना हुने भएकाले बिरामी पक्षले पनि आफूलाई उपचार गर्ने चिकित्सकलाई विश्वास गर्नुपर्ने उनको सुझाव छ।

त्यसो त क्यान्सरको उपचार क्यान्सर अस्पतालमा नै गर्नुपर्छ भन्ने आम मान्छेको बुझाई रहेको उनले सुनाइन्। तर, विशेषज्ञ चिकित्सकहरूले भने आफ्नो विशेषज्ञताको क्षेत्रभित्र पर्ने अंगमा भएको क्यान्सरको उपचार सम्बन्धित विशेषज्ञले गर्ने उनले सुनाइन्। 

उदाहरण दिँदै प्रा. डा. पलेस्वाँले भनिन्, ‘पेट सम्बन्धी क्यान्सरको शल्यक्रिया हामी गछौं, न्यूरोसम्बन्धी क्यान्सरको शल्यक्रिया न्यूरो सर्जनले गर्नुहुन्छ।’ 

साउन ४, २०८१ शनिबार १९:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।