अस्पतालको भिड व्यवस्थित गर्न स्वास्थ्यमन्त्री पौडेलको नौ बुँदे निर्देशन, काउन्टर थप्नु, शौचालय सफा राख्नु

अस्पतालको भिड व्यवस्थित गर्न स्वास्थ्यमन्त्री पौडेलको नौ बुँदे निर्देशन, काउन्टर थप्नु, शौचालय सफा राख्नु

काठमाडौँ : मन्त्रीको शपथ खाँदा नै सरकारी अस्पतालमा भिडको अन्त्य गर्ने दाबी गरेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल प्रमुखहरूलाई नौ बुँदे निर्देशन जारी गरेका छन्।

सङ्घीय अस्पताल प्रमुखसँग छलफल गरेर अस्पतालमा सेवाग्राहीहरूको भीड व्यवस्थापन र समयमै सेवा प्रवाहका लागि नौ बुँदे निर्देशन जारी गराएका हुन्।

निर्देशनमा दुई सिफ्टमा ओपिडी सञ्चालन, काउन्टर थप, अनलाइन टिकेटिङको प्रारम्भ, स्वास्थ्य बिमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधी अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राख्ने, शैया नपाई उपचार नहुने समस्याको अन्त्य गर्न भनिएको छ।

यसैगरि सोधपुछ/ सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी, सफा शौचालयको व्यवस्था मिलाउन निर्देशनमा भनिएको छ।

निर्देशन
१. सेवाग्राहीको चाँप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्ने।

२. "विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७" बमोजिम विस्तारित अस्पताल सेवा (Extended Health Service) लागू गर्ने। प्राप्त सुझावका आधारमा उपरोक्त कार्यविधि परिमार्जन गरिनेछ ।

३. चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्ज बिच समयको तारतम्यता मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने।

४. अस्पतालका कतिपय विभागहरूमा पाँच वा सो भन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदा हुँदै पनि ओ पी डी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएकोले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने।

५. स्वास्थ्य बिमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने।

६. अस्पतालमा सेवाग्राहीहरूको भीड व्यवस्थापनका लागि तपसिल अनुसार गर्ने: सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्‌ने सेवा, अनलाइन समय व्यवस्थापन (टोकन नं अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने आदि।

७. सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने ।

८. अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा पनि सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने हुँदा सोको निराकरणका लागि नक्सा

(Navigator Map) वा स्वयं सेवक परिचालन सबैले देखिने गरी सेवाग्राही लक्षित विभिन्न ठाउँमा टाँस गर्ने।

९. सार्वजनिक सेवा प्रवाहका अभिन्न अङ्ग जस्तै: सोध पुछ/ सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी, सफा शौचालयको व्यवस्था मिलाउने ।

साउन ४, २०८१ शनिबार १६:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।