आरक्षण विरोधी प्रदर्शनमा बंगलादेशमा १०५ जनाको मृत्यु, इन्टरनेट सेवा बन्दपछि झन् बढ्यो प्रहरी दमन

आरक्षण विरोधी प्रदर्शनमा बंगलादेशमा १०५ जनाको मृत्यु, इन्टरनेट सेवा बन्दपछि झन् बढ्यो प्रहरी दमन

एजेन्सी : सरकारी जागिरमा आरक्षण विरुद्धको प्रदर्शनमा बंगलादेश कम्तीमा १०५ जनाको मृत्यु भएको छ।

बुधबार, बिहीबार र शुक्रबार बंगलादेश भरका अस्पतालहरूको आँकडाअनुसार १०५ जना भन्दा बढी मानिसको मृत्यु भएको रोयटर्स जनाएको छ। ढाका अस्पतालमा शुक्रबार साँझ पाँचदेखि सात बजेको बीचमा २७ शव आएको थियो।

देशभर हिंसात्मक झडप र प्रदर्शन भएपछि शेख हसिना नेतृत्वको सरकारले शुक्रबार साँझ राष्ट्रिय कर्फ्यू लगाएर सेना परिचालन गरेको छ। बिहीबारदेखि इन्टरनेट र टेस्क्ट म्यासेज सेवा बन्द गरेपछि प्रदर्शनकारीमाथि सेना र प्रहरीले झन् बढी दमन गरेका छन्।

कर्फ्यू जारी गरिएको बंगलादेशमा त्यसलाई उल्लंघन गर्दै विद्यार्थीले प्रदर्शनलाई झन् तीव्र बनाएका छन्। त्यसरी भएको प्रदर्शनलाई प्रहरी र सेनाले कडा कारबाही गर्दै अन्धाधुन्द गोली चलाएका छन्।

कर्फ्यू शनिबार दुई घण्टाका लागि खोलिने र आइतबार विहान १० बजेसम्म जारी रहने त्यहाँको टेलिभिजन च्यानलको रिपोर्टमा उल्लेख छ। आइतबार घटनाको आँकलनपछि थप निर्णय लिइने बताइएको छ।

देश स्वतन्त्रताको लागि लडेकाहरूको परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिने प्रणालीको विरोधमा विद्यार्थीहरूले सुरु गरेको आन्दोलनले उग्र रुप लिएसँगै प्रधानमन्त्री शेख हसिनाको लोकप्रियता घट्दै गएको छ।

अन्तर्राष्ट्रिय अधिकार समूहहरूले इन्टरनेट निलम्बन र सुरक्षा बलहरूले गरेको दमनको आलोचना गरेका छन्। युरोपेली संघले हिंसामा ज्यान गुमाउनेप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

साउन ४, २०८१ शनिबार १२:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।