आफ्नै पुत्ला जलाउन लागेको तस्बिरलाई मेयर बालेनले प्रोफाइलमा लगाएपछि...

आफ्नै पुत्ला जलाउन लागेको तस्बिरलाई मेयर बालेनले प्रोफाइलमा लगाएपछि...

काठमाडौं : न्यूरोडमा फुटपाथ विस्तारको विषयलाई लिएर अहिले वडाध्यक्षसहित त्यस क्षेत्रका व्यापारीले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को विरोध गरिरहेका छन्।

उच्च अदालतको आदेशपछि न्यूरोड क्षेत्रको फुटपाथ विस्तार गर्न लाग्दा वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन र स्थानीय व्यवसायीहरूले त्यसको विरोध गरेका छन्। शुक्रबार विहान उनीहरू सडकै बसेर त्यसको विरोध गरेका हुन्।

वडाध्यक्ष महर्जनसँग त महानगरको कार्यपालिका बैठकमै मेयर बालेनको नोकझोक भएको थियो। त्यस बैठकपछि बिग्रिएको वडाध्यक्ष र मेयरको सम्बन्ध अहिलेसम्म सुध्रन सकेको छैन। न त दुवैले त्यसपछि अहिलेसम्म वार्ता नै गरेको छ।

वडाध्यक्ष र सडक विभागले फुटपाथ विस्तार गर्न नदिएपछि महानगनरपालिका उच्च अदालत गएको थियो। उच्च अदालतले फुटपाथ विस्तारका लागि बाटो खोलिदिएपछि महानगरको टोलीले पुनः फुटपाथ विस्तारको कामलाई अगाडि बढाएको थियो।

तर, पुनः वडाध्यक्ष र स्थानीय व्यापारी प्रदर्शनमा उत्रिए। उनीहरू फुटपाथ फराकिलो पार्दा सडक साँघुरो हुने बताउँदै सडकमा पार्किङ गर्न पाउनुपर्ने पक्षमा छन्। न्यूरोड क्षेत्रका अधिकांश घरमा पार्किङ छैन। उनीहरू फुटपाथ विस्तार गर्न नहुने अडान राखेका छन्।

मेयर बालेनले एकपटक उनीहरूमाथि पार्किङबाट करोडौं रकम असुल्नका लागि फुटपाथ विस्तार गर्न नदिएको आरोप समेत लगाएका थिए। आफू छउन्जेल नगरे पनि आफू गएपछि पुन: सडक नै पार्किङमा लगाउनका खोजेको उनले बताएका थिए।

महानगर प्रमुख शाहले न्यूरोड क्षेत्रमा दैनिक लाखौं मानिसले पैदल यात्रा गर्ने भएकाले फुटपाथ साँघुरो भएको भन्दै बढाउन लागिपरेको बताएका छन्। महानगरले सडक विभागको मापदण्डलाई देखाएर फुटपाथ विस्तार गर्दैछ।

महानगर र वडाको सहमति नहुँदा न्यूरोडमा सडक विस्तारको काम हुन सकेको छैन भने त्यस क्षेत्रका व्यापारीहरुले महानगर प्रमुखविरुद्ध आन्दोलन समेत गरेका छन्। उनीहरूले मेयर बालेन मुर्दाबादको नारामात्र लगाइनन्, बालेनको पुत्ला समेत जलाएका छन्।

उनीहरूले पुत्ला जलाएको तस्बिर भाइरल भइरहँदा मेयर बालेन शाहले भने आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पुत्ला जलाउन लागेको तस्बिरलाई प्रोफाइल पिक्चर बनाएका छन्।

साउन ४, २०८१ शनिबार ११:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।