त्रिशूलीमा बेपत्ता बस र शव खोज्ने भारतीय टोली भैरहवा आइपुग्यो

त्रिशूलीमा बेपत्ता बस र शव खोज्ने भारतीय टोली भैरहवा आइपुग्यो

काठमाडौं : पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली भैरहवा आइपुगेको छ।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। भारतबाट खटिएको उद्धार टोली आज विहान भैरहवा आइपुगेको छ।

१२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृह मन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए।

‘उद्धार टोली अहिले भैरहवा आइपुगेका छन्,’ उनले उकेरासँग भने, ‘आज अपरान्हसम्म घटनास्थल पुगेपछि वस्तुस्थिति हेर्छन् अनि त्यसपछि मात्र थाहा हुन्छ।’

नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन्।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ।

दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए।

नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ।

साउन ४, २०८१ शनिबार ०९:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।