बंगलादेशमा आरक्षण विरोधी आन्दोलनमा शुक्रबार थप पाँच जनाको मृत्यु

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनमा शुक्रबार थप पाँच जनाको मृत्यु

एजेन्सी : बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ। यी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ।

सरकारी जागिरमा देशलाई स्वतन्त्र बनाउन भूमिका खेलेका सन्तानलाई आरक्षण दिने सरकारी कानूनविरुद्ध उनीहरू लामो समयदेखि आन्दोलनमा छन्। यद्यपि आन्दोलन हिंसात्मक भएको भने तीन दिन भयो।

विद्यार्थी संगठनले शुक्रबार पनि पूर्ण बन्दको कार्यक्रम जारी राखेका थिए। बिहीबार हिंसात्मक प्रदर्शन भड्किएपछि छुट्टाछुट्टै घटनामा २५ जनाभन्दा बढीको मृत्यु भएको थियो।

देशमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ। शुक्रबारको पछिल्लो हिंसामा नरसिङदी जिल्ला कारागारको अवस्था पनि नियन्त्रणबाहिर गएको छ। एक हजार कैदीबन्दी थुनिएका त्यहाँका कैदीबन्दी समेत फरार छन्।

बिहीबार बंगलादेशको सरकारी टेलिभिजन परिसरमा आगजनीको घटना र प्रदर्शनकारीले कब्जा गर्ने प्रयास गरेका थिए। यद्यपि सुरक्षा फौज बढाएर त्यसलाई पुन: सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

बंगलादेशमा शुक्रबार दिनभर के भयो?
- मोहम्मदपुर र मिरपुरमा आरक्षण विरोधी प्रदर्शनकारी र सत्तारुढ दलका प्रदर्शनकारीहरूबीच झडप भएको खबर छ।

- मिरपुरमा एउटा भवनमा आगलागी भएको छ।

- ढाकाको जहांगीरनगर विश्वविद्यालय १७ जुलाईदेखि अनिश्चितकालका लागि बन्द गरिएको थियो। तर, शुक्रबार प्रदर्शनकारी विद्यार्थीहरूको ठूलो भीड बाहिर निस्केर केही हलका ताला तोडेको थियो।

- प्रदर्शनकारीले ढाकाको रामपुरा प्रहरी चौकी घेराउ गरेका छन्। यहाँ मोटरसाइकलमा आगजनी र प्रहरी भ्यानमा तोडफोड गरिएको छ।

- प्रशासनले अर्को आदेश नभएसम्मका लागि ढाका मेट्रो रेल बन्द गरेको छ। ढाकाको पल्टनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

- यसैबीच शेख हसिना सरकारका कानूनमन्त्री अनिसुल हकले सरकार आरक्षण विरोधी कार्यकर्ताहरूसँग वार्ता गर्न पर्खिरहेको बताएका छन्।

त्यहाँकी प्रधानमन्त्री शेख हसिना स्वतन्त्रता सेनानी शेख मुजीबुर रहमानकी छोरी हुन्। उनी आरक्षणको क्रमलाई निरन्तरता दिनुपर्ने पक्षमा छिन्।

यस सम्बन्धमा उच्च अदालतमा मुद्दा परेपछि आरक्षण व्यवस्था खारेज गरेको थियो। तर त्यसविरुद्ध सरकार सर्वोच्च पुगेको छ। सर्वोच्चले सुनुवाइका लागि ७ अगस्टको समय तोकिसकेको छ।

साउन ४, २०८१ शनिबार ०७:१८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।