युवा पुस्ताको इमान र सत्यको खोज पच्छ्याउने ‘युगको साँचो’

युवा पुस्ताको इमान र सत्यको खोज पच्छ्याउने ‘युगको साँचो’

काठमाडौँ : नेताको छोरी, बाबु आमाको कमाउने चक्करमा एक्लो भएको छोरा, सामाजिक सञ्जालमा चर्चित आमाकी छोरी र भविष्यमा ठुलो गेमर बन्ने लक्ष पछ्याइरहेको एक किशोर। यी सबलाई युगको साँचो भएको चिट्ठा परिसकेको छ। पाँचमध्ये अब एउटा मात्र चिट्ठा बाँकी छ।

त्यो चिठी कसलाई पर्ला ? अनि युवा उद्यमी मुनलाई भेट्न र उनको अचम्मको कपडा उद्योग घुम्ने मौका कसलाई मिल्ला?

यी पाँचमध्ये विशेष पुरस्कार कसले जित्छ होला? यस्तै प्रश्न वरिपरि निर्माण भएको नाटक

‘युगको साँचो’ अहिले बत्तीसपुतलीको शिल्पी थिएटरमा मञ्चन भइरहेको  छ। नाटकमा एक सफल उद्योगको साँचो इमानदार युवा पुस्तालाई हस्तान्तरण गर्न उद्योगपति मुनले गरेको रचनात्मक खेललाई प्रस्तुत गरिएको छ।

नाटक बालबालिकालाई लक्षित गरेर तयार पारिएको हो। नाटकले मनोरञ्जनसँगै युवा पुस्ताको इमान र परिश्रमको महत्त्व देखाउने प्रयास गरेको छ।

निर्देशक टङ्क चौलागाईंले अङ्ग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई नेपाली सन्दर्भमा ढालेर अनुवाद र निर्देशन गरेको यस नाटकले सांस्कृतिक पृष्ठभूमिमा आधारित कथा बुनेको छ, जसले दर्शकहरूलाई नजिकको अनुभव गराउँछ।

नाटकमा उद्योगपति मुनले उद्योगको साँचो इमानदार युवालाई हस्तान्तरण गर्न विभिन्न चुनौतीको निर्माण गरेका छन्। इमानदारिता, परिश्रम, र निष्ठाको महत्वलाई उजागर गर्दै युवा पुस्तालाई प्रेरित गर्ने प्रयास गरेका छन् निर्देशकले।

नाटकमा आकाङ्क्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी लगायत कलाकारहरूको अभिनय छ।

कलाकारले मिहेनतले नाटकको प्रस्तुति सजीव देखिन्छ। ‘युगको साँचो’ बाट निर्देशकले इमानदार युवा पुस्ताको सत्यको खोजी र समाजमा सकारात्मक परिवर्तन ल्याउन गरेको सङ्घर्ष देखाउने प्रयास गरेका छन्।

साउन ३, २०८१ शुक्रबार २०:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।