प्रकाशमानले धोका दिएपछि सुजाता शेखरको पक्षमा, शशांकलाई पनि ल्याउने दाबी

प्रकाशमानले धोका दिएपछि सुजाता शेखरको पक्षमा, शशांकलाई पनि ल्याउने दाबी

काठमाडौँ : गत महाधिवेशनमा कुनै पनि हालतमा शेखर कोइरालालाई सभापति बन्न नदिन प्रकाशमान सिंहलाई साथ दिन पुगेकी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला शेखरको पक्षमा खुलेकी छिन्।

एमाले-कांग्रेस नेतृत्वमा सरकार बने लगत्तै सल्लाह नै नगरी प्रकाशमान आफैँ मन्त्री बनेपछि रिसाएकी सुजाता शुक्रवार बालुवाटारमा रहेको शेखरको सचिवालयमा पुगेर उनको नेतृत्व स्विकार्ने बताइन्।

पार्टीको १४ औँ महाधिवेशनमा उनी पहिलो चरणमा प्रकाशमानको पक्षमा खुलेकी थिइन्। पहिलो चरणमा प्रकाशमान प्रतिस्पर्धाबाटै बाहिरिएर दोस्रो चरणमा शेरबहादुर देउवा र शेखरबीच प्रतिष्पर्धाहुँदा सिंहसँगै उनी पनि देउवाको समर्थनमा उभिइन्।

सभापति सिंह, उपसभापति सुजाता र महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेदवार बनेकोमा शर्माले पनि जिते। तर अहिले शर्मा पनि सिंह समूहमा छैनन्। सिंह आफैँ देउवाको समर्थन गर्न पुगे। विश्वप्रकाश गगन समूहमा देखिएका छन्। तर औपचारिक रूपमा शेखर समूहमा सहभागी भएका छैनन्।

देउवा समूहले पार्टी र सरकारमा कुनै स्थान दिएको छैन। यता सिंह समेत सरकारमा गएपछि एक्लै परेकी सुजाता अन्तमा शेखरको पक्षमा उभिन बाध्य भइन्।

‘देशको अवस्था गम्भीर छ। हामी एकजुट भएर अघि बढेनौँ भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन,‘शेखर सचिवालयमा रहेका पार्टी समर्थकमाझ उनले भनिन् ’ हामी कोइराला परिवारमा केही विवाद छैन। ‘शेखर दा’ले धेरै मेहनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ। उहाँको नेतृत्वलाई सबैले साथ दिनुपर्छ।’

उनी डा.शेखरकै निमन्त्रणामा सचिवालयमा पुगेको दाबी गरिएको छ। उनले डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरूले देखेको सपना पूरा गर्नुपर्ने दाबी गरिन्।

अहिले शशाङ्क कुनै समूहमा खुलेका छैनन्। पार्टी सरकारमा जाँदा उनले भाग पाउँदै आएका छन्। मन्त्रिपरिषद्मा उनको सिफारिसमा उर्जामन्त्री दीपक खड्का नियुक्त भइसकेका छन्।

‘डा.शंशाक पनि यहाँ आउनुपर्छ। हामी उहाँलाई ल्याएरै छाड्छौँ। सबै मिलेर अघि बढौँ, हामी कोहीबीच विवाद छैन। देशको निकासका लागि हामी एक ढिक्का हुनुपर्छ’ सुजाताले दाबी गरिन्।

आफू पार्टी सभापतिको उम्मेदवार बन्दा सुजाता र शशाङ्कले साथ नदिएकोमा सार्वजनिक रूपमै आलोचना गर्दै आएका डा. शेखरले भेटघाटका क्रममा धेरै कार्यकर्ता र शुभेच्छुकहरूले कोइराला परिवार एक ढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको दाबी गरेका थिए।

‘कांग्रेसबीच एकता आवश्यक छ । गिरिजाबाबुले भन्दै आउनुभएको सहमति, सहकार्य र एकताको कुरा आज सान्दर्भिक छ,’उनले भने,‘कोइराला परिवारमा सम्बन्ध कहिल्यै बिग्रिएको छैन। तर कोही बेला यताउता हुन्छ, त्यो सामान्य हो। आज सुजाताजी यहाँ आउनुभएको छ, त्यो एकताका लागि आउनुभएको हो,’उनले भने।

१५ औँ महाधिवेशनको गठजोड

एक पटक सभापतिको उम्मेदवार बन्ने भन्दै शेखर १४ औँ महाधिवेशनमा उठे पनि पराजित भएपछि भने उनी १५ औँ महाधिवेशनमा पुन सभापतिको उम्मेदवार बन्ने तयारीमा देखिन्छन्।

तर उनकै समूहका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

शेखर समूहमा रहे पनि गगन विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित मिलेर १५ औँ महाधिवेशनमा पार्टी नेतृत्वमा पुग्ने रणनीतिमा देखिन्छन्।

१५ औँ महाधिवेशनमा देउवा सभापति हुन नमिल्ने विधानको प्रबन्धका कारण समेत गगनसँगै शेखर पनि नेतृत्वको आकाङ्क्षी बनेका हुन्।

उता देउवा समूह भने अहिलेसम्म उम्मेदवारहिन देखिन्छ। पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई देउवाको उत्तराधिकारीको रूपमा हेरिए पनि शशांकलाई सभापति र आरजुलाई उपसभापति बनाउने गरी देउवा अगाडि बढ्न सक्ने सङ्केत देखिएपछि खड्कासमेत गगनतिर नजिक हुन थालेको देखिन्छ।

१४ औँ महाधिवेशनमा सभापतिका कुनै उम्मेदवारको पक्षमा नखुलेका शशाङ्क अहिले पनि पार्टीको गुट राजनीतिमा कुनै समूहमा खुलेका छैनन्। पार्टी सरकारमा सहभागी हुँदा शेरबहादुरले शेखर समूहसँगै उनलाई समेत मन्त्रीपरिषद्मा भाग दिने गरेका छन्।

साउन ३, २०८१ शुक्रबार २०:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।