प्रहरीले जाहेरी नलिए/घुस मागे क्युआरबाट उजुरी, एसएसपीको नेतृत्वमा महाशाखा सक्रिय

प्रहरीले जाहेरी नलिए/घुस मागे क्युआरबाट उजुरी, एसएसपीको नेतृत्वमा महाशाखा सक्रिय

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले प्रहरीले घुस माग्ने लगायतका अवैध गतिविधि गरेमा क्युआर कोड मार्फत उजुरी गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ। प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले क्युआर कोडमार्फत सिधै उजुरी गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो।

प्रधान कार्यालयका अनुसार कुनै पनि प्रहरी कर्मचारीले गर्नुपर्ने काममा उदासीन भएमा, सेवा प्रवाह नगरेमा, जाहेरी दर्खास्त लिन नमानेमा वा दर्ता नगरेमा व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानुन विपरीत थुनामा राखेमा दुर्व्यवहार गरेमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी दबाब दिएमा उजुरी गर्न सकिने छ।

उजुरीका लागि प्रहरी प्रधान कार्यालयको निःशुल्क १११३ नम्बर, कार्यालयको ०१-५७१९८२३ मा समेत सम्पर्क गर्न सकिन्छ। २४ सई घण्टा सञ्चालनमा रहने,५७१९८११, ५७१९८२२ र ९८५१२९३००० मा समेत उजुरी गर्न सकिन्छ। इमेलबाट समेत उजुरी गर्न सकिने प्रावधानसँगै सहजताका लागि प्रधान कार्यालयले क्युआर कोड समेत प्रचलनमा ल्याएको हो।

क्युआरबाट कसरी गर्ने उजुरी ?

क्युआर कोड स्क्यान गर्दा प्रहरीको आधिकारिक वेभ साइटमा रहेको उजुरी तथा गुनासो फारममा पुगिन्छ। उजुरी फारममा पुरा नाम, इमेल, फोन नम्बरसहित उजुरीकोको जिल्ला, विषय, उजुरी या गुनासोसँगै भिडियो तस्बिर भए सो समेत उपलब्ध गराउन सकिने प्रबन्ध देखिन्छ।

प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीका अनुसार गृह मन्त्रालय, अख्तियार वा प्रधानमन्त्री कार्यालयसँगै सर्वसाधारणबाट आउने गुनासो तथा उजुरीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन प्रधान कार्यालयमा एसएसपीको नेतृत्वमा सुपरिवेक्षण तथा अनुगमन महाशाखा सक्रिय छ।  जुन माध्यमबाट उजुरी आए पनि प्रारम्भमा महाशाखाले उजुरीको अध्ययन गरेर गम्भीरता अनुसार सम्बन्धित प्रहरी कर्मचारी वा कार्यालयमा सोध्ने, आवश्यकता अनुसार अनुगमन गर्ने वा अति गम्भीर देखिएमा गोप्य रूपमा अनुसन्धान गर्नेसम्मको काम गर्ने अधिकार तोकिएको छ।

‘उजुरी सामान्य वा गम्भीर के हो भनेर छुट्याएपछि आवश्यक कारबाही प्रक्रियामा जान्छ,’ उनले उकेरासँग भने 'सामान्य निर्देशन दिँदा हुने अवस्था हो भने निर्देशन दिने, कारबाही नै गर्नुपर्ने हदसम्मको हो भने स्पष्टीकरण सोध्ने, बयान लिने अनि कारबाही प्रक्रिया अगाडि बढाउनेसम्मको काम हुन्छ।'

उनले उजुरी टुङ्गिएपछि त्यसबारे के भयो भन्ने उजुरीकर्तालाई जानकारी दिने गरिएको बताए।

साउन ३, २०८१ शुक्रबार १५:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।