माइक्रोसफ्टको सर्भरमा समस्या : बेलायतमा टिभी बन्द, विश्वभरका अधिकांश बैंक तथा एयरलाइन्सको सेवा प्रभावित

माइक्रोसफ्टको सर्भरमा समस्या : बेलायतमा टिभी बन्द,  विश्वभरका अधिकांश बैंक तथा एयरलाइन्सको सेवा प्रभावित

एजेन्सी : माइक्रोसफ्टको सर्भर डाउन हुँदा शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स, दूरसञ्चार सेवाका साथै टिभीको प्रसारण बन्द भएको छ।

कम्पनीले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ। सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ।

भारतको राजधानी दिल्लीको विमानस्थलले ट्विट गर्दै विश्वव्यापी आईटी संकटका कारण आफ्ना केही सेवा प्रभावित भएको जानकारी दिएको छ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन्। हाल उडान गरिरहेका बाहेक अन्य उडान भने हुन सकेको छैन।

बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोकिने सम्भावना देखिएको छ। ठूलो मात्रामा आईटी समस्याहरू समस्या गरिरहेकाले रेल सञ्चालनमा समस्या आउन सक्ने एउटा ठूलो ट्रेन कम्पनीले जनाएको छ।

आईटी प्रणाली बन्द हुँदा बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या भएको छ। स्पेनका सबै एयरपोर्टहरूमा आईटी समस्या सुरु भएको रिपोर्ट बीबीसीले जनाएको छ।

बेलायतको स्काई न्यूज च्यानल बन्द भएको छ भने अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरुद्ध भएको छ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ। युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ। लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ।

साउन ३, २०८१ शुक्रबार १४:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।