मौद्रिक नीतिमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको चासो, शुक्रवार सार्वजनिक नहुने

मौद्रिक नीतिमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको चासो, शुक्रवार सार्वजनिक नहुने

काठमाडौँ : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि शुक्रवार सार्वजनिक हुने कार्यक्रम रोकियो। नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीति ल्याउने तयारी गरेको थियो। पूर्व गभर्नर तथा अर्थमन्त्री समेत रहेका खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि राष्ट्र बैंकले नीति सार्वजनिक गर्न मिति नै सार्यो।

राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले नीति बनाएर व्यवस्थापन समितिमा बुझाएको मस्यौदा गभर्नर अधिकारीसहितको व्यवस्थापन समितिले छलफल गरेर बिहीबार बिहान पारित गरेको थियो। शुक्रवार बिहान राष्ट्र बैङ्कको सञ्चालक समिति बसेर मौद्रिक नीति पारित गरेर सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैङ्क स्रोतले उकेरालाई बतायो। सोही अनुसार तयारी पनि भएको थियो। समितिको बैठक पनि बस्यो। तर पारित हुन सकेन।

घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा हुने लगानी रोक्न यस अगाडि राष्ट्र बैंकले कसिलो नीति ल्याएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरूसँगको भेटमा मौद्रिक नीति खुकुलो हुनुपर्ने भन्दै कस्तो खालको मौद्रिक नीति चाहेको हो सो सङ्केत गरिसकेका छन्।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी एमाले नेतृत्वकै सरकारमा गभर्नर नियुक्त भएका हुन्। उनीमाथि आर्थिक अवस्था भन्दा पनि सरकार कसको नेतृत्वमा छ भन्ने हेरेर नीति बनाउने गरेको आरोप लाग्दै आएको छ।

साउन ३, २०८१ शुक्रबार १३:३९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।