‘मोदिबेनी’को ट्रेलर रिलिजमा देखिएको वर्षाको नक्कली उत्साह

‘मोदिबेनी’को ट्रेलर रिलिजमा देखिएको वर्षाको नक्कली उत्साह

काठमाडौं : वर्षा शिवाकोटीले फिल्ममा काम गर्न लागेको एक दशक भइसक्यो। ‘नाइँ नभन्नुँ ल २’बाट डेब्यु गरेकी उनका अहिलेसम्म एकाधबाहेकका फिल्म हिट भएका छैनन्। कति फिल्म त हलमा लागेको र उत्रिएको उनी आफैँले थाहा पाउँदिनन् दर्शकको त के कुरा गर्नु र!

विकासराज आचार्य र दीपकराज गिरीको ब्राण्डमा काम गरिसकेकी अभिनेत्री वर्षाले पछिल्लो समय नयाँ टिमसँग काम नगर्ने मनसायमा समेत पुगिसकेकी थिइन्। गत साता फिल्म ‘मोदिबेनी’को गीत रिलिज कार्यक्रममा उनले यस्तो बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘यसअघि मैले जति पनि नयाँ टिमहरुसँग काम गरेँ गुड एक्पेरियन्स भएन। एउटा आशा गरेर काम गरे पनि गर्दै जाँदा त्यसको राम्रो अनुभव नभए पछि म अब नयाँ टिमसँग काम गर्न सक्दिन भन्नेसम्मको अवस्थामा पुगेको थिएँ।’

यद्यपि ‘मोदिबेनी’को टिमसँग काम गर्दा भने रमाइलो र खुसी लागेको उनले बताइन्। नयाँ भएर पनि आफ्नो कुरालाई सुन्ने, स्वागत गर्ने र सुझावलाई मनन गरेर प्रयोगमा ल्याउँदा आफूहरुले परिवार जसरी काम गरेको उनको भनाइ छ।

गीत रिलिजको १० दिनपछि ट्रेलर रिलिज कार्यक्रममा भने वर्षा पहिलाभन्दा बढी उत्साहित देखिइन्। गीत रिलिजदेखि ट्रेलर रिलिजसम्म आइपुग्दा उनको अनुहारको भाव बदलिएको थियो। उनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा समयमै उपस्थित भएकी उनले ट्रेलर हेरेर सरप्राइज भएको बताइन्।

उनले भनिन्, ‘मोदिबेनी टिम सबैलाई बधाई छ। गीत हेरेपछि मलाई ट्रेलर उत्कृष्ट बन्छ भन्ने नै लागेको थियो। अडियन्ससँगै बसेर हेर्छु भनेर आएको। सरप्राइज हुन्छु होला भन्ने लागेको थियो, भएँ पनि।’

गीतबाट फिल्म चल्छ भन्ने अपेक्षा नगरेकी उनको मन एकाएक ट्रेलरबाट  कसरी बदलियो, त्यो उनैले जानुन्। तर उनले दाबी गरे जस्तो सरप्राइज नै हुनुपर्ने गरी ट्रेलर बबाल भने देखिदैन। ट्रेलरमै राखिएका दृष्यहरुमा संवादमा प्रशस्त समस्या देखिएका छन् भने छायाँकनको कमजोरी पनि उतिकै देखिएका छन्। ट्रेलरमा त राम्रा दृष्य समेटिएनन् भने पुरै फिल्म कस्तो होला भन्ने शंका बढ्ने नै भयो।

साउन ३, २०८१ शुक्रबार १२:४९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।