महिला एसिया कप आजदेखि शुरू हुँदै, उद्घाटन खेलमा नेपालले यूएईको सामना गर्ने

महिला एसिया कप आजदेखि शुरू हुँदै, उद्घाटन खेलमा नेपालले यूएईको सामना गर्ने

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा शुरू हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले यूएईको सामना गर्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे डम्बुला मैदानमा हुनेछ।

यस्तै आजै समूह ‘ए’मा रहेको अर्को दुई टोली भारत र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुँदैछ। यो खेल पनि सोही मैदानमा साँझ सवा सात बजे शुरू हुनेछ।

गत फेब्रुअरीमा मलेसियामा भएको छनोटमा फाइनल पुग्ने दुई टोलीले एसिया कपका लागि छनोट हुने भनिएको थियो।

तर, एसीसीले आठ टोलीलाई सम्मिलित गराउने भनेपछि सेमिफाइनलमा पराजित भएको नेपाल र थाइल्यान्डले पनि मौका पाएका हुन्।

साउन १३ गतेसम्म हुने प्रतियोगितामा दुई समूह रहेका छन्। नेपाल भएको समूहमा यूएई, भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा आयोजक श्रीलंकासहित बंगलादेश, थाइल्यान्ड र मलेसिया छ।

साउन ३, २०८१ शुक्रबार ०७:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।