ल्याब मेसिन र रिएजेन्टको सिन्डिकेट तोड्न कान्तिले अपनायो नयाँ शैली,  रिएजेन्टमा प्रतिस्पर्धा गराएर मेसिन निःशुल्क दिनुपर्ने सर्त, १८ कम्पनीको प्रस्ताव

ल्याब मेसिन र रिएजेन्टको सिन्डिकेट तोड्न कान्तिले अपनायो नयाँ शैली,  रिएजेन्टमा प्रतिस्पर्धा गराएर मेसिन निःशुल्क दिनुपर्ने सर्त, १८ कम्पनीको प्रस्ताव

काठमाडौँ : कान्ति बाल अस्पतालले ल्याब सम्बन्धी मेसिन र त्यसमा लाग्ने रिएजेन्ट खरिदको मिलेमतो भत्काउन रिएजेन्टमा प्रतिस्पर्धा गराएर मेसिन भने निःशुल्क किन्ने प्रक्रिया अगाडि बढाएको छ। तर प्रस्ट कानुनी प्रावधानको अभावमा टेन्डर प्रक्रिया कसरी सकिन्छ भन्ने प्रस्ट देखिएन।

निश्चित कम्पनीसँग मात्रै मिल्ने गरी स्पेशिफिकेशन लक्ड गर्ने अनि महँगोमा रिएजेन्ट(मेसिनमा आवश्यक रसायन, फिल्म लगायतका सामाग्री)  खरिद हुने प्रथालाई भत्काउन कान्ती अस्पतालले रिएजेन्टमा प्रतिस्पर्धा गराउने र मेसिन भने निःशुल्क दिनुपर्ने सर्तमा खरिद अगाडि बढाएको देखिन्छ।

यसले गर्दा मेसिन अनि त्यसमा आवश्यक रिएजेन्ट दुवै किन्नुपर्ने बाध्यता हुँदैन। रिएजेन्टको टेन्डर जसले पाउँछ उसले मेसिन ल्याएर जडान गर्नुपर्छ। उसले खपत हुने रिएजेन्टको पैसा पाउँछ तर मेसिनको पाउँदैन। तर यसमा गुणस्तरहीन मेसिन ल्याउने जोखिम भने देखिन्छ।

अस्पतालले २०८१ असार १९ मा ल्याबको रिएजेन्ट खरिदका लागि प्रस्ताव पेस गर्ने सम्बन्धी १५ दिने सूचना जारी गर्दै ल्याबको रिएजेन्ट आपूर्ति गर्न चाहने सप्लायर्स कम्पनीले साउन दुईमा दिनको १२ बजेसम्ममा प्रस्ताव पेस गरिसक्नुपर्ने उल्लेख छ।

अस्पतालले  असार १९ मा जारी गरेको सूचनामा ल्याब सेवाका लागि आवश्यक रिएजेन्ट आपूर्ति गर्नुपर्ने भएकाले विभिन्न सर्तसहित सामग्री आपूर्ति गर्न इच्छुक फर्म कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अस्पतालमा सिलबन्दी प्रस्ताव पेस गर्नुपर्ने उल्लेख छ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति साउन दुई गतेसम्ममा १८ वटा सप्लायर्स कम्पनीले ल्याबको रिएजेन्ट आपूर्ति गर्न प्रस्ताव पेस गरेको छ। ल्याब सम्बन्धी रिएजेन्ट आपूर्तिका लागि परेका प्रस्तावको प्रस्ताव २०८१ साउन दुई गते एक बजे खोलियो। टेन्डरका प्रस्तावहरू मूल्याङ्कनको चरणमा लैजाने प्रक्रियामा रहेको अस्पतालका एक अधिकारीले जानकारी दिए।

ल्याबमा सेटिङ तोड्ने चुनौती

अस्पतालले ल्याबको रिएजेन्ट खरिदका लागि गरेको प्रस्ताव सम्बन्धी सूचनामा सप्लायर्स कम्पनीहरूले विभिन्न सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड तोकेको थियो। अस्पतालले सूचनामा ‘प्राप्त भएका दरहरूमध्ये सबैभन्दा घटी दर प्रस्ताव गर्ने प्रस्तावकसँग सम्झौता गरिने’ उल्लेख छ। यसको अर्थ रिएजेन्ट खरिदका लागि प्रस्ताव गर्ने प्रस्तावक सप्लायर्स कम्पनीमध्ये सबैभन्दा कम मूल्यमा रिएजेन्ट ल्याइदिने गरी जुन सप्लायर्स कम्पनीले कबुल गर्छ उसैले टेन्डर पाउँछ। सूचनामा उल्लेख भए अनुसार परीक्षण गर्ने मेसिन निःशुल्क दिनुपर्छ।

सूचनामा ‘उपकरणमा लाग्ने रिएजेन्टको प्रति इकाई मूल्य (प्रति टेस्टमा) प्रस्ताव गर्नुपर्ने’ सर्त छ। ‘सम्झौता अवधि तीन वर्षको हुने र सो अवधिसम्म दर परिवर्तन नहुने सर्त समेत राखेको छ।

‘आफूले उपलब्ध गराउने रिएजेन्ट अनुरूपको मेसिन निःशुल्क रूपमा सम्झौता भएको मितिले सात दिन भित्र अस्पतालको ल्याबमा जडान गर्नुपर्नेछ,’सूचनामा उल्लेख छ।

सो रिएजेन्टको आपूर्ति गर्ने सम्बन्धी प्रस्तावको सूचनामा अस्पतालले ‘सेवा लिन आउने बिरामीहरूको चापलाई मध्यनजर गरी आवश्यकता अनुसार उपकरणको सङ्ख्यामा आपूर्तिकर्ताले निःशुल्क रूपमा वृद्धि गर्नुपर्ने’सर्त राखेको छ। यसको अर्थ सस्तोमा गुणस्तरीय रिएजेन्ट ल्याइदिने गरी कबुल गरेर ल्याब सम्बन्धी रिएजेन्टको टेन्डर पाएको सप्लायर्स कम्पनीले अस्पतालमा आवश्यकता अनुसार ल्याब सम्बन्धी मेसिन थपिदिनुपर्ने हुनसक्छ।

सूचनामा सम्झौता अवधि समाप्त भएपछि ल्याबको उपकरण आपूर्तिकर्ताले फिर्ता लैजान सक्ने प्रावधान राखिएको छ। त्यसो त रिएजेन्टको टेन्डर पार्ने सप्लायर्स कम्पनीले अस्पतालमा सो रिएजेन्टको प्रयोगका लागि जडान गरिएको ल्याब सम्बन्धी उपकरणको सम्पूर्ण मर्मत सम्भारको जिम्मेवारी पनि कम्पनीकै हुने प्रावधान राखिएको छ। जसले गर्दा ल्याब सम्बन्धी मेसिन बिग्रिएको खण्डमा समेत अस्पताललाई आर्थिक भार पर्ने देखिँदैन।

अधिकांश अस्पतालमा पहिला ल्याबको मेसिन खरिद गरिन्छ, अनि त्यो मेसिनसँग मिल्ने किसिमको रिएजेन्ट खरिद गरिन्छ। यसरी मेसिन खरिद गर्दा मेसिन खरिदमा त अस्पतालको रकम खर्च हुन्छ नै, जुन उत्पादक कम्पनीको मेसिन खरिद भएको हो, रिएजेन्ट पनि त्यसैको किन्नुपर्ने हुन्छ।

अन्य कम्पनीको रिएजेन्ट मेसिनमा नलाग्ने भएकाले अरूको रिएजेन्ट किन्न मिल्दैन। जसले गर्दा  मेसिन खरिद गर्दा त अस्पतालको खर्च हुन्छ नै जुन सप्लायर्स कम्पनीको मेसिन खरिद भएको छ, उसैको रिएजेन्ट किन्नुपर्दा रिएजेन्टको रेट मेसिन सप्लायर्स कम्पनीकै अनुकूलतामा महँगोमा खरिद गर्नुपर्ने हुनसक्छ।

प्रारम्भिक रूपमा हेर्दा कान्ति बाल अस्पतालले ल्याबमा हुने मेसिन खरिद र त्यसमा लाग्ने रिएजेन्टको कमिसनको सेटिङ तोड्ने कोसिस गरेको देखिन्छ।

अस्पतालले यसअघि नै खरिद गरिसकेका ल्याबका उपकरणको हकमा समेत उपकरणका आधिकारिक विक्रेताले आधिकारिकताको प्रमाणपत्रहरू संलग्न गरी दर प्रस्ताव गर्नुपर्ने उल्लेख गरेको छ।

कतिपय अस्पतालले मेसिन नकिनी मेसिन निःशुल्क दिएर त्यो मेसिनसँगमात्रै मिल्ने गरी महंगमा रिएजेन्ट खरिद गर्ने गरेको समेत देखिन्छ। त्यसैले रिएजेन्ट महँगोमा खरिद गर्न नपरोस् भनेर भइरहेका ल्याब सम्बन्धी मेसिनका लागि पनि रिएजेन्टको दररेट मागिएको खरिदमा संलग्न अस्पतालका एक कर्मचारीले दाबी गरे।

कान्तिमा पहिल्यै भएका ल्याब सम्बन्धी यस्ता मेसिन भएका सप्लायर्स कम्पनीले पनि ती मेसिनमा प्रयोग हुने रिएजेन्टको दर रेट दिएर सस्तोमा रिएजेन्टको दररेट दिने कम्पनीको मेसिन भने सञ्चालन गर्न सकिने कान्तिका एक कर्मचारीले बताए।

सस्तोमा रिएजेन्टको टेन्डर पाउने कम्पनीको मेसिनमा गरिएको परीक्षण रिपोर्टको विश्वसनीयताका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘क्युसी’ परीक्षण गरिने अस्पतालले जनाएको छ। यसरी परीक्षण गर्दा रिपोर्ट विश्वसनीय नदेखिए टेन्डर रद्द गर्नेदेखि लिएर विभिन्न कारबाहीको प्रावधान राखिने खरिदमा संलग्न स्रोत दाबी गर्छ।

तर, यस्तो प्रकृतिको खरिद कसरी गर्ने भन्ने खरिद नियममा प्रस्ट व्यवस्था देखिँदैन। अस्पतालले खरिदको नियम अपनाउनुपर्ने हुन्छ। तर यस्तो खरिदमा प्रस्ट नियम तथा मापदण्ड नभएकाले खरिद प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने जटिलता भने देखिन्छ।

एक्सरेको प्रिन्ट निःशुल्क

अस्पतालले केही महिना अघि एक्स–रेको प्रिन्टर खरिद नगरी एक्स–रे फिल्मको मात्रै टेन्डर गरेको थियो। खरिद प्रतिस्पर्धामा एक्स–रे फिल्मको मात्रै टेन्डर गरेर सस्तोमा एक्स–रेको फिल्म दिने कबुल गर्ने सप्लायर्स कम्पनीले निःशुल्क एक्स–रे फिल्मको प्रिन्टर दिएको अस्पतालका एक कर्मचारीले जानकारी दिए।

सस्तोमा एक्स–रे फिल्म दिनेगरी टेन्डर पाएको सोही कम्पनीले निःशुल्क दिएको प्रिन्टरबाट एक्स–रेको फिल्म प्रिन्ट भइरहेको देखियो। यो फिल्म जापानी मेसिन उत्पादक कम्पनी कोनिकाको हो।

कान्ति बाल अस्पतालका अनुसार प्रिन्टर खरिद नगरी कम मूल्यमा फिल्म ल्याइदिने अनि प्रिन्टर पनि निःशुल्क ल्याइदिने गरी प्रस्ताव गर्ने सप्लायर्स कम्पनीलाई त्यो बेलामा एक्स–रे फिल्मको टेन्डर दिएको अस्पतालका एक कर्मचारीले बताए।

एउटा फिल्मको ७९ रुपैयाँ पर्ने गरी ‘१०“×१२” आकार (साइज)को एक्स–रे फिल्म सप्लायर्स कम्पनीसँग खरिद गर्ने गरी टेन्डर स्वीकृत गरेको देखियो। कान्तिमा एक वर्षमा करिब ४० हजार एक्स–रे खपत हुने गरेको छ। यसरी हेर्दा अस्पतालमा एक वर्षमा करिब ३१ लाख ६० हजारको एक्स-रे फिल्म खर्च हुने देखियो।

एक्स–रे मेसिनको टेन्डर खरिद गर्दा एक्स–रेसँगै स्पेशिफिकेशन लक्ड गरेर प्रिन्टर माग्न नहुने एक रेडियोलोजिष्टले बताए। एक्स–रेसँग प्रिन्टर नमागेको खण्डमा सुरुमा मेसिन महँगो परे पनि पछि फिल्म सस्तोमा खरिद गर्न सकिने भएकाले अस्पताललाई फाइदा पुग्ने ती रेडियोलोजिष्टको तर्क देखियो।

साउन २, २०८१ बिहीबार २१:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।