लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाले गर्यो सम्मान

लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाले गर्यो सम्मान

काठमाडौं : मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले लुटेरा समूहलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ। 

मुगुम कार्मारोङ गाउपालिका वडा नम्बर १ मा रहेको डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्बासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले प्रहरीलाई सम्मान गरेको हो।

गएको जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी लुटपाट गर्ने आठ जनाको समूहले करोडौंको सामान लुटेका थिए। 

३० दिन लामो अनुसन्धानपछि नेपाल प्रहरीले लुटेरा समूहका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ भने अझै पाँच जना फरार रहेका छन्।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा र जिल्ला प्रहरी कार्यालयलाई एक कार्यक्रम गरी सम्मान र दोसल्ला ओडाएर सम्मान गरियो। 

लुटेरा समूहले गाउँका २४ वटा घर एक गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव   ५ तोला,बुद्धको मुर्ति, मूर्ति, मुगाको माला ९५ तोला,यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरूले प्रहरीमा जाहेरी दिएका थिए।

घटनालगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिंह कमाण्डमा खटिएको टोलीले सात वटा स्थानमा अनुसन्धान सुरू गरेको थियो।

पक्राउ परेका तीन जनाबाट कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, एक वटा ट्रेकिङ झोला र एक वटा सल बरामद गरेको थियो।

पक्राउ पर्नेमा गुठिचौर गाउँपालिकाका वडा नम्बर ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ।

साउन २, २०८१ बिहीबार २१:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।