मधेश : ४ मन्त्रालय पाएपछि सरकारमा सहभागी भयो कांग्रेस, लोसपाले एउटामै चित्त बुझायो

मधेश : ४ मन्त्रालय पाएपछि सरकारमा सहभागी भयो कांग्रेस, लोसपाले एउटामै चित्त बुझायो

काठमाडौं : मधेश प्रदेशमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिल कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, उर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथग्रहण गराइन्।

जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी भएको थिएन। 

बुधबार कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए। त्यसपछि मात्र मुख्यमन्त्री सिंह आफ्नो सरकार बचाउन कांग्रेसलाई अर्थसहित ४ मन्त्रालय दिन तयार भए। 

यता, लोसपाले दुई मन्त्रालय मागेको थियो। तर, अन्तिममा एउटै मन्त्रालयमा चित्त बुझायो। 

कांग्रेस र लोसपा सामेल भएपछि आज गरिएको मन्त्रिपरिषद् पुनर्गठनसँगै सरकार पूर्णता पाएको छ।

साउन २, २०८१ बिहीबार २०:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।