शपथग्रहण गरेको तीन दिनपछि खेलमन्त्रीले भने- 'खेल बिकासमा बिहानदेखि बेलुकीसम्म खटिएको छु'

शपथग्रहण गरेको तीन दिनपछि खेलमन्त्रीले भने- 'खेल बिकासमा बिहानदेखि बेलुकीसम्म खटिएको छु'

काठमाडौं : गएको सोमबारमात्रै शपथग्रहण गरेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि बिहानदेखि बेलुकीसम्म खटिएको बताएका छन्। शपथग्रहणदेखि नै उनी बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएको देखिन्छन्। 

राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री चौधरीले खेलकुदलाई विकासको बाटोमा डोर्याउन सरोकारवालासँग एकजुट भएर अगाडि बढ्न तयार रहेको बताए। 

उनले भने, ‘म मन्त्री भएको केही दिन मात्र भएको छ। छोटो अवधिमा खेलकुदलाई कसरी विकास गर्न सकिन्छ, योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको जानकारी दिए।

१० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने उनको भनाइ छ।  

साउन २, २०८१ बिहीबार १९:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।