मानव तस्करीमा तानिइन् उप-सभामुख राना, पदीय दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लैजाने प्रयास गरेको आरोप

मानव तस्करीमा तानिइन् उप-सभामुख राना, पदीय दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लैजाने प्रयास गरेको आरोप

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी इन्दिरा राना उपसभामुखको हैसियतमा अनधिकृत व्यक्तिहरूलाई अमेरिकाको भिसा लगाएर मानव तस्करीको प्रयास गरेको गम्भीर आरोपमा तानिएकी छिन्।

गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी हुन भन्दै उनले उपसभामुखको हैसियतमा लेटरप्याडमा आफूसहित ६ जनाको नाम लेखेर भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा पठाएको पत्र सार्वजनिक भएपछि उनी मानव तस्करीमा  तानिएकी हुन्।

सांसद हुनु भन्दा अगाडि बाल आश्रम चलाएकी उनीमाथि बालबालिकाको तस्करी गरेको समेत आरोप लागेको थियो। तर त्यसबारे विस्तृत अनुसन्धान भएको छैन। जनआस्था साप्ताहिकले सार्वजनिक गरेको २०२३ फेब्रुअरी २६ को पत्रमा मार्च ६ देखि १७ सम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुने राष्ट्र सङ्घीय नियोगको महिला सम्बन्धी कार्यक्रममा सहभागी हुन भन्दै ६ जनाको नाम र पासपोर्ट नम्बरसहित भिसाको आग्रह गरेकी छिन्।

पत्रमा सो कार्यक्रम पत्रमा नाम उल्लेख गरिएका सबैका लागि महत्त्वपूर्ण रहेको भन्दै अन्तर्वार्ताको मिति सहजीकरण र भिसाका लागि आग्रह गरेकी छिन्।

सूचीमा पहिलो नम्बरमा उपसभामुख रानाको नाम छ। अन्यमा उपेन्द्र गौतम, सुष्मा लामा,राजेश लामा तामाङ,सुजन घर्ती मगर  र धनप्रसाद गुरुङको नाम छ। अन्य ब्यक्तीहरु को हुन् सो भने खुलेको छैन। पत्र सार्वजनिक भएपछि पनि उपसभामुखको सचिवालय भने मौन छ।

अमेरिका लगायतका देशको भिसा लगाउन यस अगाडि सांसदहरूको राहदानीको दुरुपयोग गरेको सार्वजनिक हुँदा उनीहरूमाथि मुद्दा समेत चलेको थियो। कलाकार, गैर सरकारी संस्थाका प्रतिनिधीहरुले समेत विभिन्न बहानामा व्यक्तिहरूलाई भिसा लगाएर लगेर उतै छाडेर आउने गरेको पटक-पटक सार्वजनिक हुने गरेको छ। यो अवैध मानव ओसारपसार अनुसार अनुसन्धानको दायरामा पर्छ।

साउन २, २०८१ बिहीबार १९:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।