विश्व बजार सूचना प्रविधि सेवामा प्रतिस्पर्धी बन्न सक्ने पूर्व अर्थमन्त्रीको पुनको दाबी

विश्व बजार सूचना प्रविधि सेवामा प्रतिस्पर्धी बन्न सक्ने पूर्व अर्थमन्त्रीको पुनको दाबी

भक्तपुर : निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गत आर्थिक वर्षमा नेपालबाट १ खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात भएको बताउँदै नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको बताए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको ठिमीमा आयोजना गरेको कार्यक्रममा नेपालको भूपरिस्थितिका कारण अरू क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए।

‘हामी करिब डेढ-डेढ अर्बको विशाल जनसङ्ख्या र विशाल भूगोल भएका चीन र भारतको बिचमा छौँ। यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटीमा हो’, पुनले भने, ‘आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ न समुद्र प्रयोग गर्नुपर्छ।’

आइटी क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्ने देखेरै आफूले नयाँ आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्रवर्धन गर्ने कार्यक्रम ल्याएको बताए।

सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनको धारणा थियो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत क्षेत्रको लगानीको श्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङ मुक्त भएको तथा भारत र बङ्गलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको उनले उल्लेख गरे ।

राज्यले सहजीकरण गर्ने र निजी क्षेत्रले ड्राइभिङ सिटमा राखेर मात्र मुलुकको अर्थतन्त्र माथि जान सक्ने उनले बताए।

‘सरकारमा रहँदा वा नरहँदा मेरो धारणा के हो भने ‘प्राइभेट सेक्टर’ लाई ड्राइभिङ सिटमा राखेर हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने भन्ने धारणा रहँदै आएको छ। यसको विकल्प छैन’, पुनले भने।

साउन २, २०८१ बिहीबार १७:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।