'बीआरआईको प्रक्रिया अगाडि बढेपछि सरकार परिवर्तनको खेल सुरू भयो'

'बीआरआईको प्रक्रिया अगाडि बढेपछि सरकार परिवर्तनको खेल सुरू भयो'

काठमाडौं : माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको दाबी गरेका छन्। 

बिहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले दुई पक्षीय वार्ता भएर बीआरआईको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरू भएको बताए। 

उनले भने, ‘बीआरआईको सन्दर्भमा सबै दलहरू र राज्यका अंगहरूको सहमति जुट्न सक्यो भने मात्रै सम्झौता गर्ने, नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो। पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरू भयो। सरकार परिवर्तन हुनुको पछाडि बीआरआई रहेको कुरा प्रष्ट छ।’

उनले नेपालभित्र सहमति जुट्न नसकेका कारण बीआरआई परियोजनाको नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा सहमति जुट्न नसकेको बताए।

उनले भने, ‘बीआरआई परियोजनाको पहिलो चरणको सम्झौता २०१७ मा भइसकेको छ। तर, यसको कागजात तयार गर्ने क्रममा नेपालको तर्फबाट सहमति हुँदाहुँदै हस्ताक्षर गर्ने प्रक्रियामा ढिला भइरहेको छ। पटक पटक हस्ताक्षरको लागि पहल भएको छ। तर, नेपालभित्रको आफ्नो सहमति जुट्न नसकेको कारणले गर्दा नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन।’

साउन २, २०८१ बिहीबार १७:२६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।