कांग्रेसका दलित नेताहरू भन्छन्- दलित समुदायमाथि 'प्रतिगमन' भयो
काठमाडौं : एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र मन्त्री छनोटका विषयमा असन्तुष्टि छ। मन्त्री छनोट गर्दा अन्तिममा हटाइएकाहरू आफूमाथि अन्याय भएको भन्दै असन्तुष्टि राखिरहेका छन्।
१० मन्त्रालयसहित झन्डै दुईतिहाइ नजिकको शक्तिशाली सरकारमा सहभागी भएको कांग्रेसले एकजना पनि दलित समुदायलाई मन्त्रीका रूपमा सिफारिस नगरेकोप्रति नेताहरू रुष्ट छन्। कतिपयले त सरकार गठन गर्दा दलित समुदायमाथि ‘प्रतिगमन’ भएको आरोप लगाएका छन्।
कांग्रेसबाट शेखर-गगन समूहका तर्फबाट सहमहामन्त्री जीवन परियार मन्त्री बन्ने चर्चामा थियो। उनले यसपटकको सरकारमा जान सार्वजनिक रूपमै इच्छा देखाएका पनि थिए। तर, अन्तिम समयमा आएर उनको नाम काटियो।
त्यसपछि अहिले कांग्रेसको सिंगो दलित समुदाय नै नेतृत्वप्रति रुष्ट छ।
सहमहामन्त्री परियारले ओली नेतृत्वको सरकारमा दलित समुदायको उपस्थिति नहुनु दलित समुदायको योगदानको अपमान भएको बताए।
'यो भनेको कांग्रेस वा एमाले, दुवैले नै चाहेर वा नचाहेर दलित समुदायको योगदानको अपमान गरेको प्रष्ट देखियो। तर, दलित समुदायले यसको मूल्यांकन गरिरहेको दलहरूले बुझेका छन् कि छैनन्, हेर्दै जाउँ', उनले उकेरासँग भने।
उता, केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वर्तमान प्रधानमन्त्री ओली सधैँ समावेशी, समानुपातिक व्यवस्थाको विरोधी रहेको भन्दै दलित समुदायमाथि प्रतिगमन भएको बताए।
'यो दलित समुदायमाथिको प्रतिगमन हो। एकैपटक यत्रो मन्त्रिपरिषद्ले पूर्णता पाउँदा दलित समुदायलाई बहिष्करणमा पारिएको छ। मन्त्रीहरू शपथ लिन जाने केही घण्टा अघिसम्म पनि दलित समुदायको प्रतिनिधित्व गराउने र दलित समुदायका योग्य र स्वाभाविक दाबेदार रहेको हामीले कुरा गरेका थियौँ। तर, कांग्रेस नेतृत्वले घोर अन्यायपूर्ण काम गरेको छ, उनले भने।
उनले प्रधानमन्त्री ओलीसँगै संविधानको स्वामित्व लिएको कांग्रेस नेतृत्व पनि चुकेको भन्दै असन्तुष्टि जनाए।
साउन ३, २०८१ बिहीबार १४:३९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।