मन्त्रीहरूलाई बधाई थाप्नै भ्याइ नभ्याई, सबैभन्दा बढी भीड स्वास्थ्य मन्त्रालयमा

मन्त्रीहरूलाई बधाई थाप्नै भ्याइ नभ्याई, सबैभन्दा बढी भीड स्वास्थ्य मन्त्रालयमा

काठमाडौं : नयाँ सरकार गठनको चौथो दिन बिहीबार मन्त्रीहरूका कार्यकक्षमा भीडभाड थियो। काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर आउने शुभेच्छुकहरुले घेरिएका थिए मन्त्रीहरु। 

भिडका कारण मन्त्रीहरूले कर्मचारीहरूसँग छलफल गर्ने र मन्त्रालयको कामबारे अपडेट हुन पाएका छैनन्। विशेषगरी कांग्रेस-एमालेका कार्यकर्ता एवं नेताहरू आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार पुगिरहेका छन्।

सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ। कार्यकक्षमा शुभेच्छुकहरूको चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन्।

हुन त पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको कार्यदिन शुरू भएको मानिन्छ। तर, अवस्था त्यस्तो छैन।

‘तुलनात्मक रुपमा कांग्रेस-एमालेका कार्यकर्ताको संख्या धेरै रहेकाले पनि भीड बढेको हुनसक्छ। तर मन्त्रीहरूले भेटघाटको समय निर्धारण गर्न थाल्नुभएको रहेछ। तर अब मन्त्रीहरूले आफ्नो काम शुरू गर्नुपर्छ।

बधाई मात्र होइन, उत्कृष्ट काम गरेर पछि धन्यवादको माला लगाए राम्रो हो,’ शहरी विकास मन्त्रालयमा भेटिएका टंक पुरीले भने।

मन्त्रालयमा भीड एकातिर रहे पनि मन्त्रीहरूले आफ्नो काम पनि थालेको पाइयो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बुधबार मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रिफिङ्सहितको भेटघाटको आयोजना गरेका थिए।

पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न निर्देशन दिएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री पाण्डेले आम नागरिकको हक हितका लागि काम गर्ने प्रतिवद्धतासहित कर्मचारीहरुसँग छलफलमै रहेको भेटिए। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि बुधबार विज्ञापन वोर्ड साथै मातहतका कर्मचारीहरूसँग छलफलको आयोजना गरेका थिए।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको ज्ञापन पत्र बुझे र निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने वचन दिए।

चाँडो चाँडो परिवर्तन भइरहने मन्त्रीहरूका कारण कर्मचारीहरूको मनोबल बढेको देखिँदैन भने मन्त्रीहरूलाई आफ्ना स्वार्थ पूरा गर्ने व्यक्तिहरूको भीडका कारण कामहरू प्रभावकारी हुन नसकेको गुनासो यथावत नै छ।

साउन २, २०८१ बिहीबार १४:०२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।