गायिका धनकुमारी गौचनको हिजोको कुरा : बेनीमा भेट भएको मान्छेसँग भागेँ, घर पुग्दा म चौथो श्रीमती रैछु

गायिका धनकुमारी गौचनको हिजोको कुरा : बेनीमा भेट भएको मान्छेसँग भागेँ, घर पुग्दा म चौथो श्रीमती रैछु

७३ वर्षअघि म्याग्दीको मुदी गाविसमा जन्मिएकी हुन् गायिका धनकुमारी गौचन। ७१ वर्षको उमेरमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी उनको बाल्यकाल गाउँमै बित्यो। गाउँमा स्कुल नहुँदा पढ्न पाइनन्। आठ वर्षको हुँदा बुवा बितेपछि आमालाई काममा सघाइन्।

गाउँमा रोधी बस्ने चलन थियो। बुढापाकाहरू साँझ घरमा मादल बोकेर दोहोरी गाउँथे। धनमाया उनीहरूले गीत गाएको सुन्थिन्। उमेर बढ्दै जाँदा उनमा पनि गायनको रस पस्यो।

गाउँघरको रोधीमा उनले दोहोरी गाउँदै छोप्न थालिन्। त्यसैको प्रभावले बागलुङमा हुने मेला महोत्सव दोहोरी खेल्थिन् उनी। त्यति बेला रेडियोमा गीत रेकर्ड गर्नुपर्छ भन्ने उनको मनमा थिएन र मनमा लागेन पनि।

तर, अहिले भने उनी आफ्ना सिर्जनालाई धमाधम रेकर्ड गरिरहेकी छन्। दुई वर्षअघि रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले एक दर्जन भन्दा बढी गीतको भिडियो निकालिसकेकी छन्।

उनले गाएका ‘चरी पासैमा’, ‘म्याग्दी मुदी गाउँ’, ‘शिरफूले माया’ लगायत गीत अहिले पनि युट्युबमा हेर्न सकिन्छ।

बुढेशकालको सहारा श्रीमान् र ४० वर्षको उमेरमै भएको एउटै छोरो बितेपछि धनकुमारी मन बुझाउनकै लागि भए पनि म्याग्दीका भाकाहरू रेकर्डमा लागेकी छन्।

उनले म्याग्दीको मुदीदेखि काठमाडौंको रेडियो नेपालसम्मको घटनाक्रमलाई उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सम्झिइन्।

हाम्रा पालामा गाउँमा स्कुल खुलेकै थिएन  
मेरो पढ्ने समयमा गाउँमा स्कुलको नाम निसानै थिएन। मैले थाहा पाउँदा कोही स्कुल जाँदैछ भन्ने समेत सुनिदैनथ्यो। म निकै ठूली भइसकेपछि गाउँमा तीन कक्षासम्मको स्कुल खुल्यो। तर त्यतिबेला म पढ्न जान्छु भन्ने अवस्थै भएन। किनकी म तरुनी भइसकेको थिएँ।

अर्को कुरा मेरो बुवा म आठ वर्षको हुँदा नै बित्नुभयो। आमा एक्लैले पाँच जनाको परिवार हुर्काउनुपर्ने अवस्था थियो। त्यसकारण म र दिदीले आमालाई काममा सघाउनुपर्ने भयो। भाइहरू सानै थिए। उनीहरूले गाउँको स्कुलमा त्यतिबेला तीन कक्षासम्म पढ्न पाए।

अहिले मलाई त्यतिखेर गाउँमा स्कुल भइदिएको भए कति धेरै पढ्न जान्दथेँ होला जस्तो लाग्छ। म १८ वर्षको भइसकेपछि मात्रै गाउँमा ३ कक्षासम्मको स्कुल खुलेको हो। यो करिव २६ सालतिरको कुरा हो। त्यतिबेला पढ्न नपाएको मैले अहिलेसम्म पनि अक्षर चिन्दिनँ। गीत पनि मैले सुनेको भरमा गाउँछु।

आमा विधुवा हुँदाको त्यो क्षण 
बुवा बितेर मेरी आमा विधुवा हुँदा कसैले पनि हेला गरेको थाहा पाइन। त्यतिबेलामा मान्छेहरू निकै सहयोगी भावनाका थिए। छरछिमेकीले आँटो पिठो, जे छ घरमा ल्याएर दिन्थेँ। पैसा नभए पनि अर्मपर्म चल्थ्यो। कसैले खेतबारी जोतिदियो भने उनीहरूकोमा जे छ त्यहि दिन्थे।

सबैले यसका घरमा केहि छैन भनेर जे छ त्यो ल्याइदिन्थे। अहिले त समय धेरै फरक भयो। कसले कसलाई गन्छ र! पैसा छैन भने आफन्त त टाढिन्छन्, अर्मपर्मको चलनै हट्यो। आमाले हामीलाई दुख्खै भए पनि हुर्काउनुभयो। अहिलेको जस्तो लुगा त्यतिबेला लगाउन पाइँदैनथ्यो। चोली र लुङ्गी लगाउने अनि कम्मरमा पटुका बाँध्ने चलन थियो।

अचेल मगर ड्रेस, गुरुङ ड्रेस, थकाली ड्रेस भन्छन्। पहिला मगरहरूले पटुका बाँध्ने चलन त थियो, तर अहिले देखाएको जस्तो थिएन। किनभने त्यतिबेला जे भेटिन्थ्यो, त्यहि लगानुपर्थ्यो। रोजेको जस्तो लगाउन कहाँ पाइन्थ्यो र!

छोरीले गीत गाउनु हुँदैन भन्ने नै थिएन
मैले थाहा पाउँदा बुढाबुढीहरू गीत गाउँथे। जतिबेला मैले गीत बुझ्न थालेँ, त्यतिबेला मेरो बुवा, हजुरबुवा, हजुरआमाहरूले शिरफूले, खेली, यानी माया, ठाडो भाकाहरूमा गाउने गर्थे। उहाँहरू रातभरी दोहोरी खेलेको देख्थेँ। मलाई अहिले पनि अलिअलि झल्को आउँछ त्यो समयको। असाध्यै राम्रो गाउनुहुन्थ्यो।

जब म बुझ्ने भएँ, तरुनी हुँदै गएँ। मैले पनि उहाँहरूको भाकामा गीत गाउन थालेँ। त्यसपछि ममा झन् जोस थपियो। मैले बुवाहरूले नै गाउनुभएको भाकाहरूमा गीत गाउँथे। हाम्रो ठाउँमा ‘यानीमाया’ भाका निकै प्रचलित थियो त्यतिबेला। अहिले पनि त्यो लहर चलेको छ। तर, पहिलाको जस्तो राम्रो लाग्दैन। त्यति राम्रो भाकामा गीत गाउन थालेपछि उज्यालो भएको पत्तै हुँदैनथ्यो।

त्यतिबेला पनि छोरी मान्छेले गीत गाउनुहुँदैन भनेर हाम्रो म्याग्दीमा कसैले पनि रोकटोक गरेको मलाई थाहा छैन। त्यसरी गीत गाउनु हुँदैन भनेको भए मैले अहिले कहाँ त्यतिबेलाको भाकाका गीत रेकर्ड गर्न पाउँथे र? उहिल्यै बिर्सिसकेको हुन्थे नि! मेला महोत्सवमा कम्पिटिसन हुँदा म पहिलो भएर पुरस्कार कहाँ पाउँथेँ र!

अन्तर जातीय बिहे गर्दा पनि भएन विभेद
१९ वर्षको हुँदा मैले विवाह गरेँ, २० वर्षमा त छोरो जन्मियो। मैले आफ्नै जातसँग विवाह गरेको हैन, बलबहादुर गौचन (थकाली)सँग गरेको हो। हाम्रो अन्तरजातीय विवाह हो। म मगरको छोरी, उहाँ थकाली।

हाम्रोमा फुपुको छोराले मामाको छोरी माग्ने चलन छ। आमा बुवाले छोरी फुपुको छोरालाई दिएपछि मामाको छोरीले बिहे गर्न माने ठिकै छ, नमाने जहाँ भेट्छ त्यहिँबाट लतारेर लैजाने चलन थियो। धेरैलाई लतारेर लगेको मैले देख्या छु।

म त मेरो खुशीले अर्को जातसँग विवाह गरेको हो। मेरो बिहेको प्रसङ्ग पनि रोचकै छ। म १८/१९ वर्षको तरुनी हुँदा दोहोरी गीत गाउन मेला महोत्सवमा जान्थे। तीर्थ व्रत जाँदा, दशैंमा गाउँघरमा मेला लाग्दा, हरेक ठाउँमा म गीत गाउन पुग्थेँ।

२६ सालतिर बागलुङमा चैते दशैं मेला लागेको थियो। अहिले पनि त्यहाँ चैते दशैंमा ठूलै मेला लाग्छ। त्यतिबेला बागलुङमा दोहोरी खेल्ने होडबाजी चलेको थियो। त्यो मेलामा गीत गाएर घर फर्कँदा बेनी बजारमा बास बसियो। त्यहि बास बस्ने क्रममा उहाँ(बलबहादुर गौचन)सँग भेट भयो।

गफ गर्ने क्रममा उहाँले मलाई मनपर्यो भन्ने कुरा गर्नुभयो। उहाँले मलाई मनपर्छ भनेपछि मलाई पनि उहाँ मनपर्यो। हामी दुईबीच मन परापर भएपछि उहाँसँगै गएँ म।

उहाँको घर पुग्दा पो थाहा पाएँ, म त चौथो श्रीमती रैछु। मलाई लैजानुअघि उहाँले तीनवटा बिहे गरिसक्नुभएको रैछ। म भन्दा अगाडिको कुनै श्रीमतीबाट पनि बच्चन भएको रैनछ। त्यसपछि उनीहरूले आ–आफ्नै गरि खान थालेका रैछन्।

म कान्छी श्रीमती, त्यसमाथि अर्को जातको थिएँ। तर मलाई सासु-ससुरा कसैले पनि हेलाँ गर्नुभएन। श्रीमानले पनि राम्रै गर्नुभयो। मेरो श्रीमानको जति जना श्रीमती भए पनि मेरो बुढाको प्राण मेरै काखमा गयो।

हाम्रो माग्दीमा त्यतिबेला भागेर बिहे गरे पनि कसैले राम्रो वा नराम्रो भनेर बचन लाएको सुनिन। अर्को जातमा गयो भनेर माइतमा चाहिँ अलि घृणा गर्थे।

पहिला रहरले गाएँ, अहिले पीरले गाउँछु
त्यतिबेला उमेर थियो, तरुनी थिएँ, रहरले गीत गाउँथे। २६ सालअघि बागलुङमा मसँग गीत गाउन नसकेर केटाहरू भाग्थे। त्यतिबेला प्रधानपञ्च र न्यायाधीशहरूले २५-२५ सयको बाजी राखेका थिए दोहोरीमा। तीन दिनसम्म दोहोरी गाइयो। त्यस बीचमा दुई हुल केटाहरू पिसाब फेर्ने बहाना गरेर भागे।

त्यति बेलाको समयमा मैले सम्मान स्वरूप २५ सय र उनीहरू हारेर भागेपछि थप २५ सय गरेर पाँच हजार रुपैयाँ जितेँ। त्यतिबेलाको पाँच हजार भनेको निकै ठूलो रकम थियो। खुशीको सीमै थिएन। त्यो रकमले हाम्रो परिवारलाई केही राहत भयो।

गीत गाएरै पैसा कमाएर ल्याउँदा आमा एकदम खुशी हुनुहुन्थ्यो। अहिले म यसो गम्छु, त्यतिबेला म रहरले गीत गाउने रैछु, अहिले भने श्रीमान् र छोराको वियोग भुलाउन गाउँछु।

छोरो युकेमा क्यान्सर भएर बित्दा मैले अनुहारै हेर्न पाइन। अहिलेको जस्तो फेसबुक भिडियोको जमाना पनि थिएन। १४ वर्षसम्म मैले मेरो छोराको मुख नहेरि बित्यो। अहिलेको जस्तो समय भएको भए, ऊ जहाँ हुँदा पनि भिडियो कलमा हेर्न पाउँथे होला।

त्यतिबेला चिठी पत्रमा कुरा हुन्थ्यो। कसले के खबर आयो भनेर हुलाकीले ल्याउँथ्यो। त्यहि हेरेर कति दिनमा विदेशको समाचार थाहा हुने, अहिले त कहाँ के भयो भन्ने कुरा हातमा नै थाहा हुन्छ। जमाना धेरै फेरियो। एक्लै डेरामा बसेर आफ्ना पुराना गीतहरू गुनगुनाउँछु अनि श्रीमान् र छोराको यादमा भकानिन्छु।

रेडियो नेपालमा ७१ वर्षको उमेरमा स्वर परीक्षा पास
मैले त्यतिबेला गीत गाउँदा ठूल्ठूला मेला महोत्सवमा पहिलो हुन्थेँ। त्यसरी गीत गाएर पहिलो हुँदा रेडियो नेपालमा गीत गाउन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर, म्याग्दीबाट काठमाडौं आउन बाटो कता हो कता।

अहिलेको जस्तो बाटै त थिएन। कति दिन हिँडेर आउनुपर्थ्यो। फेरि मलाई ल्याइदिने कसले, पढेलेखेको भए पो! रेडियोमा गीत सुन्दा म पनि गीत गाउन पाए हुन्थ्यो भन्ने नलागेको कहाँ हो र! तर, आउन पाइनँ।

दुई/तीन वर्षअघि रेडियो नेपालमा गीत गाएर भ्वाइस टेस्ट दिएँ। पास पनि भएँ। मैले गीत गाएर आएँ। तर, बजेको नै सुनिन।

रेडियो नेपालमा गाउने धोको थियो मलाई। अहिले त रेडियो नेपालमा गीत गाएर केही पनि हुने रैनछ। स्वर परीक्षा लिने रैछ, रेडियोमा गीत गायो भने बाहिर नआउने रैछ।

साउन २, २०८१ बिहीबार १३:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।